लुकाकु र हजार्डको गोल, बेल्जियमको विजयी सुरुवात

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा नेशन्स लिगमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।

नेशन्स लिगको लिग ए अन्तर्गत समूह ए टू मा रहेको बेल्जियमले मंगलबार राति भएको खेलमा आइसल्याण्डलाई ३–० ले हराउँदै बेल्जियमले विजयी सुरुवात गरेको हो । अवे मैदानमा भएको खेलमा बेल्जियमलाई जिताउन इडन हजार्ड र रामेलु लुकाकुले गोल गरे ।

हजार्डले एक गोल गरे भने लुकाकुले दुई गोल गरेका हुन् । २९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै हजार्डले बेल्जियमलाई सुरुवाति अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता पहिलो हाफमा २–० बनाए । लुकाकुले नै ८१ औँ मिननेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियम ३–० ले विजयी भयो ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्