जंगली हात्ती किन बारम्बार मृत भेटिन्छन् ?

भदौ २१ गते मागुरमाडीमा भेटिएको मृत हात्ती। तस्बिर : उमाकान्त खनाल /देश सञ्चार ।

विर्तामोड – गत भदौ २१ गते बिहान झापाको मेचीनगर नगरपालिका ९ मागुरमाडीमा जंगली हात्ती मृत फेला पर्यो। जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले धान खेतको आहालमा धसिएको अवस्थामा एउटा जंगली हात्ती परेको जानकारी दिएका थिए।
बिहीबार बिहान स्थानीयबासीले खेतमा मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गत साउन ३ गते पनि बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो।
सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा मुचुल्का तयार गरी खाल्टोमा पुरिएको थियो।

बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका स्थानीयवासीले दुर्गन्ध आएपछि खोज्दा मरेको हात्ती फेला परेको जनाएका थिए। उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए। उक्त हात्तीको दाह्रा निकालिएको अवस्थामा भेटिएको थियो। उक्त मृत हात्तीको उमेर करीब ४५ वर्ष अनुमान गरिएको थियो।

तर यी दुवै हात्ती कसरी कुन अवस्थामा मारिए वा मृत भेटिए भन्ने कुराको कुनै लेखाजोखा कसैसँग छैन। भारततिरबाट आउने जंगली हात्तीले झापाको मेचीनगर ठूलो नोक्सानी गर्ने गरेका छन्। त्यही नोक्सानी खेपेर बसेका स्थानीयबासी जंगली हात्तीप्रति वर्षौंदेखि क्रुद्ध छन्।

जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीका अनुसार साउन ३ गते मृत भटिएको हात्तीका दाह्रा निकालिनुमा तस्करहरुले उक्त हात्तीलाई पासोमा लगाएको हुनसक्ने अनुमान गर्छन्। तर मरेको धेरै दिनमा भेटिएका कारण खोज अनुसन्धान गर्न सहज नभएको उनको भनाइ छ।
झापाको मेचीनगर नगरपालिका क्षेत्रमा जंगली हात्तीबाट बाली जोगाउन करेन्ट जडित नांगा तार लगाउने गरिएका कारण पनि हात्ती करेन्ट लागेर मर्ने गरेका सुवेदीको अनुमान छ।

सुवेदीले भने, ‘मागुरमाडीमा भेटिएको मृत हात्ती करेन्ट लागेर रन्थनिएर खेतको आहालमा धसिएको अनुमान छ। तर प्रमाणविना कसैलाई पनि कार्वाही गर्ने अवस्था हुँदैन।’

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्