विराट गोल्डकपको पाचौँ संस्करणमा झण्डै ६ लाख नाफा

विराटनगर – गतवर्ष सम्पन्न विराट गोल्डकप फुटबल टुर्नामेन्टको पाचौँ संस्करणमा ५ लाख ८८ हजार ५ सय ८१ रुपैयाँ नाफा भएको छ । २०७४ साल चैत्र अन्तिम साता सम्पन्न गोल्डकपको आय ब्ययको हिसाब १ करोड ३० लाख ८५ हजार रुपैया रहेको छ ।

गोल्डकपको आम्दानीतर्फ प्रायोजक तथा प्रवर्धक शीर्षकमा ५१ लाख ४६ हजार ४ सय ६१ रुपैया, टिकट विक्रीमा ४४ लाख ५६ हजार १ सय ६१ रुपैया र आर्थिक सहयोग तष अन्य आम्दानीतर्फ ३४ लाख ८३ हजार रुपैया भएको विराट गोल्डकप ट्रष्टिजका एक पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार गोल्डकप आयोजक पक्षले प्रतियोगिता गतवर्ष सम्पन्न भएपनि हिसाबकिताब बारे भदौ ११ गतेमात्र जानकारी गराएका थिए । जसमा खेलाडी, रेफ्री तथा अन्य खर्चमा ६० लाख ६५ हजार ८ सय ६६ रुपैया खर्च भएको ती पदाधिकारीले बताए । प्रतियोगिता भ्याटमा दर्ता गरिएको भन्ने सन्दर्भमा भने, ‘आय व्यय विवरणमा भ्याट उल्लेख गरिएको छैन ।

यसअघि आयोजक पक्षधरले प्रतियोगिता भ्याटमा दर्ता गराएका थिए । तर, यसमा देखिएन । यद्धपि टि.डि.एस र अन्य विविध खर्चमा १ लाख ९७ हजार ८ सय ७० रुपैया जोडिएको छ ।

यसअघि, गोल्डकप समितिका वरिष्ठ सल्लाहकार प्रकाश मुन्दडाले गोल्डकपको आर्थिक पारदर्शिताका लागि भ्याटमा दर्ता गरिएको बताएका थिए । आयोजक समितिका एक पदाधिकारी अनुसार गोल्डकपलाई भ्याट नम्बर ६०७६३५१९१ बाट रकम तिरिएको छ । उनका अनुसार भ्याट मात्र करिब १७ देखि १८ लाखसम्म तिर्नुपर्ने देखिन्छ । यद्यपि आयोजकले करिब १२ लाख ५० हजार रुपैयाँ कर आन्तरिक राजस्व कार्यालयमा जम्मा गरेको छ ।
यसै विषयमा सोमबार समितिले आय व्ययको विवरण गोल्डकप ट्रष्टलाई बुझाएको थियो । आय–व्यय प्राप्त भएपछि ट्रष्टको सोमबार नै बसेको बैठक र त्यहाँ उपलब्ध आय–व्यय विवरणमा कहीँकतै भ्याटमा दर्ता भएको र भ्याट वापत बुझाउनु पर्ने रकम उल्लेख नगरेको ट्रष्टका पदाधिकारीको भनाइ छ । उनले भने,‘ट्रष्टले आयोजक समितिलाई प्रतियोगिता गर्न मात्र अधिकार दिएका छौँ, अन्य ट्रष्ट सम्बन्धी काम गर्ने अधिकार केही दिएका छैनौं ।’
‘हामीले पनि बाहिर मात्र सुनेका हौं भ्याटमा दर्ता भएको,’ उनले भने, ‘आधिकारिक कुरा आएको छैन, यदि दर्ता भएको रहेछ भने कसरी कुन अधिकार प्रयोग गरेर काम गरेको भनेर ट्रष्टमा बोलाएर सोध्छौं । कसैलाई केही समस्या परेको भए ट्रष्टमा आएर कुरा राख्नु पथ्र्यो, आफू खुसी कसैलाई केही गर्ने छुट छैन । खेलकुद प्रतियोगिता गर्ने संस्था नाफामुलक नभएकाले भ्याटमा लैजानु ठीक होइन।’

त्यसैगरि, गोल्डकपमा विज्ञापन खर्च शीर्षकतर्फ ११ लाख ६१ हजार २ सय २७ रुपैया देखिएको छ। फ्लेक्स खर्चमा भने, ९ लाख ६६ हजार ३ सय २६ रुपैया, त्यसैगरि मञ्च ब्यवस्थापन, उद्घाटन र समापन खर्चमा ९ लाख ४७ हजार ४ सय ४४ रुपैया खर्च भएको विवरणमा समेटिएको छ।

गोल्डकप आयोजक समितिले आय व्यय खर्चतर्फ अतिथी सत्कारमा ४ लाख ४१ हजार ६ सय रुपैया, आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समितिले १ लाख रुपैया उपलब्ध गराएको विवरणमा सामेल छ। प्रतियोगिता गतवर्ष चैत्र १७ देखि २६ गतेसम्म भएको थियो। जसको उपाधि थ्रीस्टार क्लबले हात पारेको थियो।

 

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्