तिब्बत भ्रमण सकेर फर्किए सभामुख महरा

तिब्बत भ्रमण सकेर फर्किए सभामुख महरा

काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको बताएका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्‍चारकर्मीमाझ आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेको बताएका हुन। उनले आफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझैं सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे।

सभामुख महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको पनि बताए। तिब्बत सरकारका प्रमुखसँगको भेटमा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल भएको र छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको सभामुख महराको भनाई छ। सभामुख महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पूलको व्यवस्था भईरहेको पनि जानकारी दिए।

गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गरेका सभामुख महराले त्यहाँ आयोजित ‘चौंथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा भाग लिए।

त्यसैगरी उनले तिब्बत बसाईको क्रममा तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए। सभामुख महराले सोही भ्रमणको क्रममा ल्हासास्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास पनि गरे।

भवन पूरानो भएकाले नयाँ भवन निर्माणको शिलान्यासको कार्यक्रममा पनि आफू सहभागी भएको सभामुख महराले जानकारी दिए। त्यसैगरी सभामुख महराले सोही कन्सुलर भवनबाट तातोपानी र रसुवागढीमा निर्माण गर्न लागिएको चीन– नेपाल नाका पुलको पनि शिलान्यास गरे। उनले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’ को बैठकलाई पनि सम्बोधन गरेका थिए।

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्तिमाया तामाङ, नेपाली काँग्रेसकी सांसद रङमति शाही, संघीय समाजवादी फोरम, नेपालकी उमाशंकर अरबरिया, राष्ट्रिय जनता पार्टी नेपालकी एकवल मियाँ र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी थिए।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्