निर्मला पन्त बलात्कार–हत्या प्रकरण

न्यायको ‘युद्ध’ लड्न निर्मलाका बुवाआमासहितको टोली काठमाडौँमा

निर्मला पन्तका बुवा यज्ञराज पन्त र उनकी श्रीमति । तस्बिर : समाजिक सञ्जालबाट

काठमाडौँ – पुराना गीत सुन्दै गयो भने थाहा लाग्छ तिजमा माइती र चेलीको सम्बन्ध अनि रोक्नै नसक्ने अवरोधहरु बारे । न भदौरे भेलले छेक्छ न रोक्न सक्छ कुनै कामकाजले, तिजमा चेलीका लागि माइती त्यति प्यारो लाग्छ । माइतीलाई पनि चेलीको साथ उस्तै प्यारो ।

तर अवस्था यस्तो पनि आउँछ, यहि प्यारो चाड माइती र चेलीहरुले नै बहिष्कार गर्नु परोस् । यस्तै भएको छ बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको परिवार र उनको जिल्ला बासिन्दाहरुका लागि ।

तिजको रौनकले सबैतिर छोपेको छ । घर–घरमा चेली–माइतीको आत्मिक सम्बन्ध देखिन्छ । तर निर्मलाका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तका लागि भने अहिलेको तिज शोक बनेर आएको छ ।

शोक, छोरी गुमाउनुको । त्यो भन्दा ठूलो शोक, छोरीले न्याय नपाउनु र अपराधीहरु नसमातिनु । छोरीको न्यायका लागि लडिरहेका छन्, निर्मलाका बुवा र आमा । उनीहरुलाई साथ दिएका छन् कञ्चनपुरका महिला अधिकारकर्मीहरुले ।

देशभर तिजको रौनक छ, निर्मलाका बुवाआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरु भने तिज मनाउन छोडेर काठमाडौँ आएका छन् न्यायको लडाईँका लागि ।

शारदा चन्दसहितका ११ जना (निर्मलाका बुवाआमा र महिलाहरु) काठमाडौँ आएका छन् । ‘हाम्री छोरी मारिएकी छ, उसले न्याय पाएकी छैन, अपराधीहरु खुलेआम छन्, हामी त शोकमा छौँ अनि कसरी तिज मनाउनु ?’ शारदाले प्रश्न गरिन् ।

छोरी माइतीको चाड तिजमा छोरीले नै न्याय नपाएका बेला आफूहरुले चाड मनाउन नसकेको बरु यो चाडलाई छोरीको न्यायका लागि सुम्पिने निर्णयसहित काठमाडौँ आएको उनले बताइन् ।

आफूहरुको टोलीले निर्मलाको न्यायका लागि राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, महिला आयोग, मानवअधिकार आयोगसहितका निकायलाई झकझक्याउने सारदाले देश सञ्चारलाई जानकारी दिइन् ।

उनीहरु आफ्नै खर्चमा काठमाडौँ आएका हुन् । मंगलबार तिजको तयारी स्वरुप प्रायः घरमा दर पाक्दै थियो, उनीहरु भने काठमाडौँ ओर्लिए अनिश्चित बनेको न्यायको बाटो पहिल्याउने सपना लिएर।

काठमाडौँ आउँदाको भाडा लागेन, किनकी न्यायको यो अभियानमा स्थानीय बस व्यवसायीले साथ दिए र टिकटको व्यवस्था गरिदिए । अब काठमाडौँमा न्यायका लागि भोग्नु पर्ने हण्डरहरुका लागि उनीहरु तयार छन् र खर्च पनि आफ्नो पोल्टाबाट गर्दै छन् ।

शारदाले भनिन्, ‘न्याय नपाएसम्म हामी यहिँ लड्ने छौँ, यो न्यायको युद्ध हो र निर्मलाका लागि मात्रै होइन अरु निर्मलाहरुका लागि पनि । हामी न्याय नपाएसम्म फर्किँदैनौँ ।’

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्