नेकपाको सचिवालय बैठक जारी

फाइल तस्बिर ।

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा पार्टीको अवरुद्ध एकीकरण प्रक्रियाका विषयमा छलफल भइरहेको छ । तल्ला कमिटीको एकीकरणका लागि सिफारिस भएका नामप्रति शीर्ष नेतादेखि तल्लो तहसम्म असन्तुष्टि देखिएको छ ।

विवादलाई कसरी समाधान गरेर एकता प्रक्रियालाई निचोडमा पु¥याउने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । अरु प्रदेशका कार्यदलले एकताका लागि प्रतिवेदन बुझाए पनि १ र २ नम्बर प्रदेश कार्यदलले अझैसम्म प्रतिवेदन बुझाउन सकेका छैनन् ।

सबै प्रदेश कार्यदललाई भदौ पहिलो हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको थियो । प्रतिवेदन आएको पाँच नम्बर प्रदेशमा पनि तीव्र असन्तुष्टि देखिएको छ । एकतामा पूर्व एमाले र माओवादी केन्द्र घटकबीच नै असन्तुष्टि बढी देखिएको छ ।

सिफारिसमा तत्कालीन एमाले घटकभित्रको माधव नेपाल पक्षलाई उचित स्थान नदिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

विमस्टेक सम्मेलन र शीर्ष नेताहरुको विदेश भ्रमणका कारण सचिवालय बैठक दुई हप्तापछि बुधबार बोलाइएको हो ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्