छानबिन समिति सदस्य केसीको खुलासा

‘ट्रकले किचेर मार्छु भन्‍ने धम्की आयो’

‘ट्रकले किचेर मार्छु भन्‍ने धम्की आयो’

काठमाडौं – निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले आफूलाई ट्रकले किचेर मार्ने धम्की दिएको खुलासा गरेका छन् ।

बुधबार गृहमन्त्रालयमा छानबिन समितिको सदस्यबाट दिएको राजनीतिमा फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा केसीले घटना स्थलमा भदौ १५ गते जाँदा आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका हुन् ।

केसीले भने, ‘समितिका तर्फबाट म एक्लै घटनास्थलमा गएका बेला मोटरसाइकलमा आएको मोटो व्यक्तिले यसअघि यहाँ ट्रको ब्रेक फेल भएर मान्छे मरेका छन् । तपाईंलाई पनि त्यस्तै होला भनेर चेतावनीपूर्ण तरिकाले भने ।’

धम्कीपछि आफू जिल्ला प्रशासन कार्यालयमा गएर बसेको केसीले बताए । उनले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटेपछि छानबिन समितिमा फर्किएको जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए ।

‘मेरो सुरक्षा र अपराधि पत्ता लगाउन गृहमन्त्री सहमत हुनुभयो, जसका कारण एक जना राष्ट्र सेवक कर्मचारीको हैसियतले काममा फर्किएको छु, केसीले भने ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिमा बसेर निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्ने भन्दै सोमबार राजीनामा घोषणा गरेका थिए ।

गृहमन्त्री थापासँग कुराकानी गरेपछि समितिका सदस्यबीच मतभिन्नता रहेको स्वीकार गर्दै केसीले फरक मत राखेर भने आफू घटनाबारे प्रतिवेदन दिन प्रतिबद्ध रहेको बताए ।

गएको साउन १० गते १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि भिमदत्त नगरपालिकामा हत्या भएको थियो । अघिल्लो छानबिन समितिले प्रतिवेदन दिन नसकेपछि मैनालीको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति भदौ ७ गते गठन गरिएको थियो ।

समितिलाई १५ दिनको समय दिए पनि अझै प्रतिवेदन बुझाउन सकेको छैन । डेढ महिनासम्म पनि अपराधि पत्ता नलाग्नु र छानबिन समिति नै विवादमा पर्नुले पन्त हत्या प्रकरणको अनुसन्धन थप शंका उत्पन्न भएको छ ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्