निर्मला पन्त बलात्कारपछि हत्या प्रक्ररण

दिलीपसिंह बिष्टले उल्टै भने, ‘मलाई पक्राउ गर्नुको कारण प्रहरीलाई सोध्नू’

दिलीपसिंह बिष्टले उल्टै भने, ‘मलाई पक्राउ गर्नुको कारण प्रहरीलाई सोध्नू’

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टले आफू निर्दोष भएकोले छुटेको बताएका छन्। रिहापछि पत्रकारहरुसँग बोल्दै बिष्टले घटनामा आफू निर्दोष भएकोले छुटेको बताएका हुन्।

उनलाई अदालत नपुग्दै मंगलबार सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो। डिएनए परिक्षण नमिलेपछि निर्दोष ठहरिएका उनलाई प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको हो।

उनले प्रहरी नियन्त्रणमा रहदा आफूलाई कुनै किसिमको यातना नदिइएको बताएका छन्। तर एकपटक पानीपट्टी गरेर कान तानेको र सोधपुछ गरेको उनले बताए।

तपाईलाई प्रहरीले यातना दिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘यातना दिएको छैन तर एकपटक पानीपट्टी गरेर कान तान्यो त्यसपछि घुमाउन लग्यो, खाना खान दियो, पानी खाउ भन्यो, र सोधपुछ गर्‍यो।’

आफूलाई प्रहरीले सोधपुछ गरेको, हतकडी लगाएको, शौचालय जादा पनि प्रहरी सँगसँगै आएको, प्लेनमा काठमाडौँ लगेको, टिचिङ हस्पिटलमा रगत लगायतका जाँच गरेको उनले बताएका छन्।

निर्मला पन्तको बलात्कार र हत्या कसले गरेको हो भनेर प्रहरीले आफूलाई सोधेको र थाहा छैन भन्दा पक्राउ गरेको उनले बताए। ‘कसले गर्‍यो निर्मला पन्तको बलात्कारपछि हत्या भाई तिमीलाई थाहा छ भनेर प्रहरीले मलाई सोधे, मैले थाहा छैन सर मैले जानेन, आई डोन्ट नो भने, आइएम बिलिभ टु मी, सरी फोर हर्ट यु, आई एम हनेस्टी म्यान, म निर्दाेष व्यक्ति छु भनेँ, नगरेको काम मैले कसरी गरे भनु भनेर पनि मैले प्रहरीलाई भनेको थिए,’ दिलिपले भने।

उनले आफूलाई पक्राउ गर्नुको कारण प्रहरीलाई सोध्न पत्रकारलाई आग्रह गरे। तपाईलाई किन पक्राउ गरेको हो थाहा छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो कुरा त भित्र भएर प्रहरीलाई सोध्नुस मलाई थाहा छैन।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक महिनाको अनुसन्धानपछि बिष्ट नै निर्मलाको हत्यारा भएको भन्दै सार्वजनिक गरेको थियो।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्