नेपाल फेरि सेमिफाइनलमै सिमित, मालदिभ्ससँग ३-० गोलले पराजित

काठमाडौं-  नेपाल  दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपमा फेरी सेमिफाइनलबाटै बाहिरिएको छ। बंगलादेशमा जारी १२ औं संस्करणको सेमिफाइनलमा बुधबार नेपाल, मालदिभ्ससँग ३-० गोलले पराजित भएको हो।

नेपाल हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन। पहिलो हाफको सुरुवातमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको मालदिभ्सले अन्तिम १० मिनेटमा दुई गोल थपेको थियो। मालदिभ्सले नवौं मिनेटमा फ्रिकिकमार्फत गोल गरेको थियो। मालदिभ्सका कप्तानले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोल भएको थियो।  पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा गोल गर्न सकेनन।

मालदिभ्सको अन्तिम दुई गोल इब्राहिम वाहिदले गरेका थिए। ती गोल अघि दोस्रो हाफमा मैदान छिरेका नवयुग श्रेष्ठले गोल लाइन नजिकबाट गोल गर्न सकेनन् । तर वाहिदले ८४ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। तीन मिनेट लगत्तै उनले मालदिभ्सलाई ३-० गोलले अगाडि बढाए। दुवै गोलमा नेपालको फितलो रक्षापंक्तीको फाइदा उठाएका थिए वाहिदले। त्यसअघि पहिलो हाफको अन्तिमतिर नेपालका कप्तान भरत खवासले पनि खाली पोष्टमा गो ल गर्न सकेका थिएनन।

साफ च्याम्पियनसिपमा नेपालले मालदिभ्सलाई हालसम्म हराउन सकेको छैन। मालदिभ्स पाँचौंपटक फाइनल पुगेको हो यस प्रतियोगितामा। यसअघि तिनपटक उपविजेता र एकपटक विजेता बनेको थियो। नेपाल भने पाँचौंपटक सेमिफाइनल पुगेको थियो।  यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २-१ गोलले हारेको थियो भने भुटानलाई ४-० र बंगलादेशलाई २-० गोलले हराएको थियो।

यता भारतसँग २-० ले पराजित भएको मालदिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। श्रीलंकासँग अंक समान भएपछि टसका आधारमा मालदिभ्स सेमिफाइनल पुगेको थियो। मालदिभ्सले भारत र पाकिस्तानबीच हुने खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्