साफ च्याम्पियनसिपः नेपाल भर्सेस माल्दिभ्स

हिले मैदानमा लड्यो साफ फाइनलको नेपाली सपना

बंगलादेशको भूमि नेपाली फुटबलका लागि फाप साबित हुँदै आएको थियो कम्तिमा पछिल्ला केही वर्षमा । सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेर पछिल्ला वर्षमा नेपाली टोलीले रोकिएको उपाधि यात्रा सुरु गरेको थियो ।

अरु केही उपाधि जिते पनि क्षेत्रीय प्रतिस्पर्धा साफ च्याम्पियनसिप भने नेपालका लागि यो प्रतियोगिता सुरु भएदेखि नै सपना बन्दै आएको छ र अब कम्तिमा अर्को साफसम्मका लागि यो सपना थाँती रहने भएको छ ।

बंगलादेशको ढाकामा बुधबार भएको सेमिफाइनलमा नेपाली टोली माल्दिभ्ससँग ३-० ले पराजित भयो । प्रतियोगितामा माल्दिभ्समाथिको जित निकाल्न नसकेको यात्रा तोड्न सकेन ।

यो खेल नेपाली टोलीका लागि साफको अन्तिम दुई अर्थात फाइनलमा पहिलो पटक पुग्ने माध्यम बन्न सक्ने माध्यमका रुपमा हेरिएको थियो, किनकी सेमिफाइनलमा भारतसँगको सम्भावित भेट टरेको थियो र माल्दिभ्ससँगको खेल केही सहज हुने अपेक्षा थियो । तर पानी परेर हिलाम्मे बनेको मैदानमा नेपाली टोलीको खेल माल्दिभ्ससँग खराब देखियो ।

खेलाडीको प्रदर्शन खासै राम्रो देखिएन, त्यो भन्दा घातक बन्यो बंगलादेशको हिले मैदान । पानीका कारण केहीबेर रोकिएको खेल सुरु त भयो । तर गोल खाइसेको नेपाली टोली खेलमा फर्किन सकेन । किनकी पोस्ट प्रहार गरेर माल्दिभ्सका गोलरक्षकलाई काम त दिए तर गोल गर्न सकेनन् ।

हिले मैदानमा लड्दै पड्दै अघि बढ्न खोजेका नेपाली खेलाडीले गोलको बाटो बललाई देखाउन सकेनन् ।

बिमल घर्तीले राम्रो हेड प्रहार गरेका थिए । नवयुग श्रेष्ठसहितका खेलाडीको प्रयास पनि राम्रै थियो । र पनि हिलोले थकाएको तथा इतिहास लेख्ने सपनामा अवरोध बनेर आएको माल्दिभ्सको गोलका कारण नेपाली खेलाडीको मनोवल कमजोर देखियो ।

सबैभन्दा घातक बन्यो खेलको अन्तिमतिरको समय । पानी सुक्दै जाँदा कुवाको छेउमा देखिने जस्तो हिले मैदानको डिबक्समा सामान्य बल नै नियन्त्रण गर्न नसक्दा नेपालले लगातार दुई गोल खायो र नतिजा ३-० ले माल्दिभ्सलाई सुम्पियो ।

यो खेलमा गोल गरेर जित्न सकेको भए नेपाली टोलीले फाइनलमा स्थान बनाउने थियो । अनि बिमलले गोल गरेको भए साफमा सबैभन्दा धेरै गोल गर्ने नेपाली खेलाडी बन्ने थिए । उनले चार गोल गरेका छन् ।

तर मैदानको हिलो र खेलमा लागेको हिले धब्बाका कारण सपना अहिलेका लागि थाँती बस्यो ।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्