बलात्कारका कारण १४ वर्षकी बालिका गर्भवती, न्याय प्रक्रियाले गति लिएन

सांकेतिक तस्बिर

बर्दिया – बलात्कारका कारण गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिको पहिचान हुन सक्दा न्याय प्रक्रियामा अवरोध आएको छ ।

मानसिक अवस्था कमजोर भएकी बालिका बलात्कृत भएकी हुन् । बालिकाले घटनाबारे बताउन नसकेकाले अनुसन्धान प्रक्रिया अघि बढाउन गाह्रो भएको प्रहरीले जनाएको छ ।

बालिकाले नजिकैको गाउँका केटाले आफूलाई जंगलमा लगेर बलात्कार गरेको संकेत गर्ने गरेकी छन् । तर त्यो भन्दा बढी बताउन नसक्दा अनुसन्धानमा समस्या भएको हो ।

गत वैशाख महिनामा घरबाट ठाकुरबाबा नगरपालिकाको सैनाबरमा रहेको दिदीको घरमा जान्छु भनेर हिँडेकी उनी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् ।

हराएको छैटौँ दिन सुरक्षाकर्मीले उनलाई भेटेका थिए । बालिकाले घटनाबारे फरक फरक कुरा बताउने गरेको र आफूहरुलाई कुन चाहिँ कुरा सही हो भन्ने यकिन गर्न कठिन भएको प्रहरीले बताएको छ ।

बालिकाको गएको वैशाखदेखि महिनावारी भएको छैन । सुरुमा आफूहरुलाई अरु नै कुनै कारणले होला भन्ने लागे पनि शारीरिक परिवर्तन देखिन थालेपछि स्वास्थ्य चौकीमा लैजाँदा गर्भवती रहेको थाहा भएको उनकी आमाले बताएकी छन् ।

स्वास्थ्य चौकीले कति महिनाको गर्भ छ भन्ने बारेमा केही बताएको छैन । बालिका बलात्कृत भई गर्भवती भएको घटनाको विषयमा आफ्नो ध्यानाकषर्ण भएको बताउँदै समस्या सामाधान र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय बर्दियामा समन्वय र पहल प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताइन् ।

निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट अन्य सम्बन्धित निकायमा पत्राचार गर्ने बताए।

भदौ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्