काठमाडौँ – तिजको रौनकले दिनभर देशभर छोयो र यो क्रम पञ्चमीसम्म जारी रहनेछ । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

काठमाडौँको पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि ठूलो भिड थियो । काठमाडौँ उपत्यका मात्रै होइन विभिन्न जिल्लाबाट आएका श्रद्धालुका कारण पशुपति परिषर अरु दिनको तुलनामा निकै व्यस्त थियो ।

भिड बढ्दै जाँदा त्यसको व्यवस्थापनका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ । पशुपतिमा पनि बिहानैदेखि प्रहरीहरुको उपस्थिति बाक्लो थियो । प्रहरीको बर्दीमा सुरक्षाका लागि खटिनेमा महिलाहरु पनि थिए ।

महिला प्रहरीहरु रंगिविरंगी पहिरनमा दर्शनका लागि आएका अरु महिलाको सुरक्षामा थिए । उनीहरु माइती जान पाएनन्, कामबाट छुट्टि पनि मिलेन । तर एउटा राम्रो के भएछ भने उनीहरु पशुपतिमा खटाइए ।

रंगिविरंगी लुगा नभएर के भो, सुरक्षाका लागि खटिएका महिला प्रहरीले संस्कृतिलाई निरन्तरता दिएको देखियो । उनीहरुले पूजा गरे प्रहरी बर्दीमै ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बिहानदेखि बेलुका अबेरसम्म पशुपति परिषरमा केही महिला प्रहरीलाई भेटेकी थिइन् । उनले ति महिला प्रहरीका केही तस्बिर खिचेकी छन् ।