१६ सय ७० पादरीले ३६ सय बालबालिकामाथि यौन हिंसा गरेको खुलासा

जर्मनीमा रोमन क्याथोलिक धर्म गुरुहरुले सन् १९४६ देखि २०१४ को बिचमा तीन हजार ६०० बालबालिकाको यौन शोषण गरेको खुलेको छ ।

चुहावट भएको एक प्रतिवेदन अनुसार जर्मनीमा रोमन क्याथोलिक चर्चमा बालबालिकामाथि लामो समयदेखि यौन शोषणा हुँदै आएको देखिएको छ ।

चर्च आफैले गरेको अनुसन्धानको प्रतिवेदन लिक भएको हो । यो प्रतिवेदन यहि सेप्टेम्बर २५ मा सार्वजनिक गर्ने तयारी छ ।

प्रतिवेदनमा रोमन क्याथोलिक चर्चका १६ सय ७० पादरीले तीन हजार ६०० बालबालिकामाथि विभिन्न प्रकारका यौन हिंसा गरेको उल्लेख छ । चर्चका प्रवक्ताले अनुसन्धानबाट जे खुल्यो त्यसले आफूहरुलाई लाज लागेको र निराश भएको बताएका छन् ।

विश्वभरका रोमन क्याथोलिक चर्चमा हुने गरेको यौन हिंसाको सम्बन्धमा पछिल्लो समय अनुसन्धान हुँदै आएको छ र जर्मनीको यो प्रतिवेदन पछिल्लो कडी मात्रै हो ।

पछिल्लो अध्ययन अनुसार यस्तो किसिमको हिंसा गर्ने मध्ये ३६ प्रतिशतलाई मात्रै कानुनी कठघरामा उभ्याइएको छ र धेरैले सामान्य सजाय मात्रै पाएका छन् । चर्चमा हुने गरेका यौन हिंसा मध्ये ६ मा एक बलात्कार रहने गरेका छन् ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्