अमेरिकामा फ्लोरेन्स आँधीको डर

चार राज्यमा आपतकाल, लाखौँ मानिस घर छोडेर सुरक्षित स्थानमा

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा बासिन्दा समुद्री आँधी फ्लोरेन्सबाट जोगिनका लागि सुरक्षित स्थानमा जान थालेका छन् ।

क्याटगोरी थ्री आँधी फ्लोरेन्स स्थानीय समय अनुसार बिहीबार बेलुकासम्ममा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने र यो निकै भयानक बन्न सक्ने चेतावनी दिइएको छ ।

आँधी अहिले १९५ किलोमिटर प्रति घण्टाको गतिमा बढी रहेको छ । हावाको गति लगभग स्थिर जस्तै रहे पनि यो आँधी भयानक हुने चेतावनी दिइएको हो ।

आँधीका कारण साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनिया राज्यका तटीय क्षेत्र बढी प्रभावित हुने छन् । यी क्षेत्रका १७ लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले त्यो क्रम जारी छ ।

यस्तै आँधीका कारण जर्जिया, मेरिल्याण्ड तथा वासिङ्गटन डिसीसहितका राज्यमा पनि प्रभाव पर्ने देखिएको छ । बुधबार जर्जिया राज्यले आपतकालको घोषणा गरेको छ । यसअघि भर्जिनिया, मेरिल्याण्ड र वासिङ्गटन डिसीले आपतकालको घोषणा गरेका थिए ।

क्यारोलिनाका तटीय क्षेत्रका केही ठाउँमा यो यो शताब्दीकै सबैभन्दा ठूलो आँधी हुने अमेरिकाको मौसम विभागले जनाएको छ ।

फ्लोरेन्सका कारण १७० बिलियन अमेरिकी डलर बराबरको क्षति हुने पूर्वानुमान गरिएको छ । यस्तै ७ सात ५९ हजार आवासीय तथा व्यवसायिक भवनमा क्षति पुग्ने देखिएको छ ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्