डोटीमा बस दुर्घटनाः २४ जना घाइते, ६ जनाको अवस्था गम्भीर

धनगढी – डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ९११४ नम्बरको बस बिहीबार बिहान ३ बजेतिर डोटीको जोरायल गाउँपालिका–२ को अठासी मोडमा दुर्घटनामा परेको हो ।

बस सल्लाको रुखमा अडकिएको अवस्थामा फेला परेको र यात्रुहरुलाई भिरबाट उद्धार गरी उपचारका लागि अत्तरियाको पदमा अस्पताल पठाइएको डोटीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए ।

बस दुर्घटनाको कारण खुलेको छैन । बसका चालकसहित सबै घाइते भएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्