निर्मला पन्त हत्या प्रकरणबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ्ग

काठमाडौँ – सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी निर्मला पन्तको घटना बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ्ग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई सरकारले नै संरक्षण दिएको भन्दै घटना बारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिए ।

उनले निर्मला पन्तको हत्याको घटनासँग जोडिएर सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताए । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक दश मिनेटका लागि स्थगित भएको थियो ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्