निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् ‘आफ्नै छोरी सम्झेर न्याय दिलाउनुस् ‘

निर्मला पन्तकी आमा दुर्गादेवी पन्त । तस्बिर: बर्षा शाह /देश सञ्चार

काठमाडौँ – बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नै छोरी सम्झेर निर्मलालाई न्याय दिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेकी छन् ।

बिहिबार रिपोर्टर्स क्लवमा उनले भनिन् ‘राष्ट्रपति ज्यू मेरो छोरी तपाईको पनि छोरी हो आफ्नै छोरी ठानेर मेरो छोरीलाई न्याय दिलाउनुहोस् महिला राष्ट्रपति भएको देशमा बलात्कारीलाई किन कारबाही हुँदैन ?’

उनले अगाडि भनिन्, ‘राष्ट्रपति ज्यू न्यायको खोजीका लागि म तपाईको शरणमा आएकी छु, तपाईको पनि छोरी छन् यदि तपाईको छोरीलाई पनि मेरो छोरीको जस्तै भएको भए कस्तो हुन्थ्यो होला ? तपाई हाम्रो अभिभावक हो त्यसैले निर्मलालाई आफ्नै छोरी ठानेर न्याय दिलाउनुहोस् ।
जिल्लामा न्याय पाउन नसकेपछि आफूहरु काठमाडौँ आएको बताएकी उनले जिल्लामा गएकाहरुले अपराधी समात्छौँ भनेर झुटो आश्वासन मात्रै दिएको बताइन् ।

उनले छोरीका हत्यारालाई पक्रेर सरकारले कारबाही गर्न नसक्ने हो भने आफूहरुलाई पनि गोली ठोकेर मार्न सरकारलाई आग्रह गरिन् ।
‘हामीले सरकारसँग न्याय बाहेक अरु केही मागेका छैनौँ , न्याय पनि पाउन नसक्ने हो भने हामी मर्न चाहन्छौँ, यात हामीलाई पनि गोली ठोक्नुहोस हैन भने न्याय दिनुहोस् । उनले भनिन् ।

‘एक छोरीको हत्या भयो, दुईवटा छोरीलाई एक्लै घरमा छोडेर न्याय माग्न काठमाडौँ आएकी छु, बिन्ती छ हत्यारालाई सार्वजनिक गरिदिनुहोस् म न्याय नपाएर रित्तो हात जिल्ला फर्कन सक्दैन्, दुर्गादेवीले हात जोडेर बिन्ती गर्दै भनिन्, राष्ट्रपति ज्यू मलाई जसरी हुन्छ न्याय दिनुहोस् ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्