निर्मला बलात्कारपछि हत्या प्रकरण- डीएनए परिक्षणबाट अपराधी खोज्दै प्रहरी

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त ।

काठमाडौं- कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी अब डीएनए परीक्षणबाटै अपराधी पत्ता लगाउन केन्द्रित भएको छ।

प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज बिष्टको डीएनए परीक्षण सुरु गरेको छ। बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको पनि डीएनए परिक्षण सुरु भएको छ।

‘अहिले आम मानिसले आशंका गरेका मान्छेहरुको डीएनए परिक्षण सुरु गरेका छौं। डीएनए नमिलेसम्म कसैलाई अभियुक्त बनाउन सकिँदैन’, प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने। निर्मलाको हत्यापछि डीएनए परीक्षणका लागि उनको योनीबाट नमूना लिइएको थियो यसमा उनको एउटा आफ्नै डीएनए छ भने अर्को बलात्कारीको।

प्रहरीले यसअघि अभियुक्त बनाएका दिलिपसिंह बिष्टको डीएनए परिक्षण गर्दा ती दुवै डीएनएसँग मेल नखाएपछि उनलाई छाडिएको छ। बलात्कारका घटनामा डीएनए परीक्षणबाट बलात्कारी पत्ता लगाउने गरिन्छ।

के हो डीएनए परीक्षण

यौन सम्पर्क हुँदा योनीभित्र विर्य वा पुरुषको रौं झरेको छ भने त्यसबाट बलात्कारी पत्ता लगाउन सकिन्छ। तर यसका लागि बलात्कृत महिलाले योनी सफा नगरेको, ननुहाएको तथा अरुसँग यौन सम्पर्क नगरेको हुनुपर्छ।

त्यसैले यौन सम्पर्क हुने बित्तिकै डीएनए परीक्षण भएमा मात्र बलात्कारी पत्ता लगाउन सकिन्छ।

निर्मलाको शव गत साउन ११ गते उखुबारीमा हिलाम्मे अवस्थामा भेटिएको थियो। त्यसको केही दिनपछि डीएनए परिक्षणका लागि नमूना पठाइएको थियो।

ती किशोरीको हत्या भएको करिब एक महिनापछि प्रहरीले दिलिपसिंह बिष्टलाई अभियुक्त बनाएर सार्वजनिक गरेपनि डीएनए परीक्षण गरिएको थिएन।

डीएनए परीक्षणपछि एसपी विष्ट र उनका छोरा तथा भीमदत्त नगरपालिकाका मेयरका भतिजामाथिको आशंकाबारे स्पष्ट हुने एसएसपी थापा बताउँछन्। नेपाल प्रहरीअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण गर्ने छ।  निर्मलाको योनीमा लागेको विर्यका आधारमा तयार पारिएको डिएनए प्रोफाइलसँग उनीहरुको डीएनए प्रोफाइल जुधाएर हेरिनेछ जसले घटनामा उनीहरुको संलग्नता वा असंग्लनता थाहा लाग्नेछ। एसपी बिष्ट कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख हुन्।

प्रहरीले करिब एक महिना लगाएर गरेको अनुसन्धानपछि दिलिपसिंह बिष्टलाई अभियुक्त बनाएर उभ्याए पनि स्थानीयले एसपी बिष्ट र उनका नातेदारमाथि नै शंका गरेका थिए। डीएनए परीक्षणमा निर्दोष ठहर भएपछि दिलिपसिंह सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्।

निर्मला स्थानीय रोशनी बमको घरमा गाइड बुक लिन गए पनि साँझबाट बेपत्ता भएकी थिइन्। रोशनी र उनकी दिदीमात्र बस्ने घरमा एसपी बिष्टको आउजाउ रहने गरेको स्थानीयले बताउँदै आएका छन्। दुवै दिदी बहिनीपनि सरकारी वकिल कार्यालयको सहमतिमा जिम्मा जमानीमा छुटिसकेका छन्।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्