काठमाडौं- केही वर्षअघि विराटनगरलाई ग्रीन जोन बनाउने योजना तत्कालिन उपमहानगरपालिकाले लिएको थियो। तर, विविध समस्याका कारण सो योजना बीचमै तुहीन पुग्यो।

तत्कालिन समय उपमहानगपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरलाई एक रंगको एकरुपता दिन अभियान चलाउने प्रयास गरेका थिए।तर, त्यसको कार्य सुरु हुन नपाउँदै योजनाका फाइलहरु दराजमा थन्कियो।

उक्त योजनालाई यतिबेला धनकुटा जिल्लामा स्थानीयले अंगीकार गरेका छन्।धनकुटा नगरपालिकाभित्र प्रत्येक घरमा एक रङ्ग लगाउदा एकरुपता र सानो ठूलो भेदभाव नरहने बुझेका स्थानीयले नगरलाई सुन्तले रङमा चिटिक्क पारी रङगाएका छन्।जसको सुरुआत धनकुटा नगरपालिका वडा नम्बर ५ माथिल्लो कोप्चेबाट भएको छ।

यतिबेला माथिल्लो कोप्चेलाई स्थानीयको पहलमा सुन्तले रङमा रङ्गाइएको छ।कोप्चेका प्रत्येक घर, टहरा तथा पर्खालहरु यसै रङबाट सजिएको छ।अझ भनौं यहा ओरेन्ज सिटी अभियान नै चलाइएको छ।

यहा पुग्ने जो कोहीले पनि समान एक रङ देखेपछि रमालो मान्ने गरेको रङ अभियान्ता गोविन्द राई बताउँछन्।यस रङरोगन अभियान विस्तारै धनकुटा जिल्लाभर पुराउने अभियान लिएका राईले सुन्तले रङ धनकुटाको पहिचान भएको बताउछन्।

उनले भने, ‘स्थानीयको पहलमा सुरु गरिएको यस अभियानसंगै धनकुटालाई चिनाउने ऐतिहासिक खोकु–छिन्ताङको सुन्तलालाई प्रवद्र्धन गर्न मद्धत मिल्नेछ र यसैको प्रवद्र्धनका लागि स्थानीय लागि परेका हुन्।’

माथिल्लो कोप्चेमा ८० देखि ८५ घरले सुन्तले रङ लगाएर यस अभियानमा साथ दिएका छन्।कोप्चेका चोक–चौतारी, मठ मन्दिर, पार्टी कार्यालय, विद्यालय र खेलमैदानका भित्तामा समेत सुन्तले रंगले सजिसजाउ बनाइएको छ।

त्यसैगरि, तल्लो कोप्चेमा पनि सुन्तले रङ लगाउने कार्य सुरु भएको छ।त्यहा करिब ३५ घरले यस ओरेन्ज सिटी अभियानलाई साथ दिदै रङ लगाएका छन्।

राईका अनुसार, खोकु-छिन्ताङमा मात्र नभएर, केहीवर्ष अघिसम्म नगरक्षेत्रमा सुन्तला राम्रो फल्ने गरेको थियो। तर बढ्दो वातावरण प्रदूषण र ग्लोबल वार्मिङका कारण सुन्तलाको पहिचान नगरबाट हराउन थालेको छ।

जिल्ला फुटबल संघ धनकुटाका अध्यक्ष समेत रहेका राईले हाल स्तरोन्नती भइरहेको फुटबल रङशालालाई पनि सुन्तला रङले रङ्गाउने काम भएको बताए।

यस अभियानमा स्थानीयसंगै रङ कम्पनीहरुले पनि विशेष छुट दिदैं आएका छन्।रङकै माध्यमबाट फरक पहिचान बनाउने अभियानमा लागेका धनकुटेलीलाई विभिन्न रङ कम्पनीहरुले ४० प्रतिशतसम्मको छुट दिने गरेका छन्।

एकै रङ लगाउँदा पर्यटकलाई पनि आकर्षित गर्न सकिने र जात जाति, धर्म, ठूलो सानो भेदभाव नहुने भएकाले रङको अभियान चलाइएको स्थानीयको भनाई छ। स्थानीयले नगरपालिका भित्र रहेका १० वडामा दशैं पूर्व नै रङरोगनको कार्य सम्पन्‍न गर्ने लक्ष्य राखेको छ।

भदौ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्