फ्लोरेन्स आँधी

सुरु हुँदैछ फ्लोरेन्स आँधीको कहर, धेरैको ज्यान जान सक्ने चेतावनी

सुरु हुँदैछ फ्लोरेन्स आँधीको कहर, धेरैको ज्यान जान सक्ने चेतावनी

अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै पुग्दै गरेको समुद्री आँधी फ्लोरेन्सका कारण धेरै मानिसको ज्यान जाने सक्ने चेतावनी दिइएको छ ।

आँधीबाटा जोगिनका लागि जोखिमयुक्त क्षेत्रका लाखौँ मानिसहरु केही दिनदेखि सुरक्षित स्थानमा जाने क्रम चलिरहेको छ । अब आँधी तटीय क्षेत्रमा ठोक्किने बेला आइसकेकाले अहिलेसम्म सुरक्षित स्थानमा नगएकाहरुको ज्यान जोखिममा रहेको सरकारी अधिकारीले चेतावनी दिएका हुन् ।

संघीय आपतकालीन व्यवस्थान संस्था, फेमाले आँधीका कारण धेरै क्षेत्रमा विनाशकारी बाढी आउने सक्ने बताएको छ ।

नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियासहितका १७ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

नर्थ क्यारोलिनाको तटीय क्षेत्रमा तीव्र गतिको हावा चल्ने तथा ठूलो पानी पर्ने क्रम सुरु भइसकेको छ । यसले गर्दा बाढी आउन पनि थालेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार नर्थ क्यारोलिनाका ११ हजार भन्दा बढी घरमा बिद्युत आपूर्ति बन्द भइसकेको छ ।

नेपाली समय अनुसार बिहान पौने तीन बजेको समयमा फ्लोरेन्स आँधी साउथ क्यारोलिनाको पूर्वी तटीय क्षेत्रमा रहेको मेर्टल बिच भन्दा २५० किलोमिटर मात्रै पर थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेसम्ममा पहिरोसहितका विपद आउन थाल्ने बताइएको छ ।

फ्लोरेन्स आँधीलाई क्याटगोरी टू मा झारिएको छ । यसको हावाको गति अहिले १६५ किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरेन्सका कारण आउने बाढीको पानीको सतह चार मिटरसम्म हुने बताइएको छ ।

अहिलेसम्म १४ सय भन्दा बढी उडान रद्द गरिएका छन् । जर्जिया, मेरिल्याण्ड, भर्जिनियासहितका राज्यमा आपतकाल पनि घोषणा गरिएको छ ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्