वीरगञ्जका मेयरले भने, ‘मैले राजीनामा दिएको छैन, पार्टीमा असन्तुष्टि मात्रै पोखेको हुँ’

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी ।

काठमाडाैँ – वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएको नभई असन्तुष्टि मात्रै जनाएको बताएका छन् ।

पार्टीबाट अनावश्यक दबाब आएको भन्दै उनले राजीनामा दिएको कुरा विभिन्न सञ्चार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । तर देश सञ्चारसँगको कुराकानीमा उनले आफूले राजीनामा दिएको नभएर केही कुराहरुमा असन्तुष्टि मात्रै व्यक्त गरेको बताए ।

‘पार्टीले महानगरपालिकाको काममा अनावश्यक दबाब दिएपछि मैले असन्तुष्टि जनाएको कुरा सत्य हो तर राजीनामा दिएको छैन, मेरो कुराहरुलाई पार्टीले सम्बोधन नगर्ने हो भने राजीनामाको बारेमा सोच्न सकिन्छ,’ उनले भने- ‘अहिले नै राजीनामा दिएको कुरा हल्ला मात्रै हो ।’

पार्टीले महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै उनले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र पठाएको कुरा सञ्चार माध्यमहरुमा आएको छ ।

सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्वाचित भएका थिए । संघीय समाजवादी फोरमका नेताहरुले मेयर सरावगीले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाउदै आएका छन् ।

बुधबार बसेको पार्टीको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्