प्रदेशको नामाकरण र राजधानीबारेमा थारुहरु जाग्दै

नेपालगञ्ज – ५ नम्बर प्रदेशका थारु अगुवाहरुले राजधानी र प्रदेशको नामाकरणमा चासो देखाएका छन् ।

थारु समुदायको बाक्लो उपस्थिति रहेको बाँके, बर्दिया र दाङ जिल्लाका थारु अगुवाहरुले संयुक्त धारणा बनाएर अघि बढ्ने प्रयास गरेका हुन् । बर्दियामा भेला भएका थारु अगुवाहरुले ५ नम्बर प्रदेशको राजधानी दाङको लमहीमा हुनुपर्ने बताएका छन् । ‘लमही या लालमटियामा राजधानीका लागि प्रशस्त जग्गा रहेको छ, थारु अगुवा चन्द्र चौधरीले भने ।

थारु अगुवाहरुले ५ नम्बर प्रदेशको नामाकरणको प्रयास गरेका छन् । बुद्ध प्रदेश, बुद्ध थारुवान प्रदेश, लुम्बिनी प्रदेशमध्ये एक हुनुपर्ने उनीहरुको बुझाई रहेको छ । ५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुर जिल्ला मिसाउनु पर्नेमा पनि उनीहरुको बलियो तर्क रहेको छ ।

कैलाली र कञ्चनपुर मिसाउने र ५ नम्बरबाट अर्घाखाँची, पाल्पा, रोल्पा र पूर्वी रुकुम छोड्नेबारेमा छलफल चलाएका छन् । यसो गर्दा बाँकेको कोहलपुरलाई राजधानी बनाउन सकिने एकथरीको भनाई रहेको छ । यी सबै गर्नका लागि थारु अगुवाहरुले बर्दियाका विष्णु थारुको संयोजकत्वमा १५ सदस्यीय लबिङ तथा समन्वय समिति गठन गरेका छन् ।

देउवा सरकारले सात वटै प्रदेशमा अस्थायी राजधानी तोकेपनि प्रदेशको नामाकरण गर्न धेरैको बाँकी रहेको छ । ६ नम्बर प्रदेश र ३ नम्बर प्रदेशले नामाकरण गरेका छन् । अरु प्रदेशको नामाकरण गर्ने विषय सुस्त गतिमा अघि बढेको छ ।

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवललाई तोकिएपनि दाङको लमहीमा सार्दा उपयुक्त थारु समुदायबाहेकका पनि एकथरीको लबिङ रहेको छ । राजधानी र प्रदेशको नामाकरण गर्न प्रदेश सरकारले समिति बनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र प्रदेशको नामाकरण जे भएपनि सबै ठाउँको समुचित विकासलाई जोड दिनुपर्ने बताउदै आएका छन् । उनलाई पनि राजधानी दाङमा सार्नुपर्ने चर्को दबाब रहेको छ ।

प्रदेश सरकारले प्रशासनिक, औद्योगिक र पर्यटकीय राजधानी बनाएर सबै ठाउँको विकास गरेर अघि बढ्ने कुरा बताइरहेको छ । त्यसमध्येमा औद्योगिक महानगरका रुपमा नेपालगञ्जलाई अघि बढाउने चर्चा चलाइएको छ । प्रशासनिक केन्द्र दाङ भन्नेको जमात ठूलै छ । प्रदेशको राजधानी र नामाकरण दुई तिहाईले पास गर्नुपर्ने भएकाले सहजै यो वा त्यो ठाउँको नाममा कुरा मिल्ने लक्षण देखिदैन ।

थारु अगुवाहरुले बनाएको समितिले केन्द्र र प्रदेश सरकारका साथै जिल्ला जिल्लामा गएर लबिङ गर्ने तयारी गरेको छ । समितिका सदस्य चन्द्र चौधरीले शुरुवात लबिङबाट भएपनि अन्तिममा आन्दोलन नै विकल्पको रुपमा हुनसक्ने बताए ।

५ नम्बर प्रदेशमा १२ जिल्ला रहेका छन् । राजधानी र प्रदेशको नामाकरण गर्न नेताहरुको पहुँच गाँसिएर आउँछ । यो प्रदेशमा बुटवल र आसपासकै नेताहरुको केन्द्रको पहुँचमा छन् । त्यसो त, एकप्रकारले बुटवललाई राजधानी कायम गरिसकिएकाले अन्यत्र सार्न गाह्रै हुने नेताहरु बताउँछन् ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्