सांसदको प्रश्न : मन्त्रीकाे विरोध गर्दा कालोझण्डा नदेखाएर के भाला देखाउने ? कि बन्दुक देखाउने ?

लक्ष्मणलाल कर्ण।

काठमाडौँ – राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानबिन समिति बनाई यादवको मृत्युको घटनाबारे छानबिन अघि बढाउन माग गरे ।

उनले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन समिति बनोस्, जाँचबुझ होस् भनेर पटक पटक सरकारको ध्यानाकर्षण गराउदा सुनुवाई नभएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

‘मुलुकमा दिनहु बलात्कार र हत्या भइरहेको छ संसदका माननीयहरुले हरेक दिन प्रश्न उठाइरहनुभएको छ तर सरकार गम्भीर छैन । प्रहरी हिरासतमा नै राममनोहर यादवको हत्या भएको छ । प्रहरी हिरासतमै व्यक्ति हत्या हुन्छ भने अब कसले जिम्मेवारी लिने ? ‘उनले भने ।

मन्त्रीलाई कालो झण्डा देखाएको नाममा बर्दियाका राममनोहर यादवलाई नियन्त्रणमा लिने काम भएको भन्दै उनले भने, ‘अब के गर्ने लठ्ठी देखाउने ? भाला देखाउने ? बन्दुक देखाउने ? आफ्नो विरोध प्रर्दशनका लागि उसले कालो झण्डा देखायो । प्रहरी हिरासतमै ७ गते देखि १६ गते सम्म बस्दा व्यक्तिको मृत्यु भयो भने के कारणले मृत्यु भयो ? किन प्रहरीले मारे ? किन गृह प्रशासनको जिम्मेवारी हो कि होइन ? किन अवगत गराएन आज सम्म ?’

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्