#जस्टिस फर निर्मला

निर्मलाको न्‍यायका निम्‍ति शनिबार देशका १६ स्थानबाट एकैसाथ प्रदर्शन

काठमाडौं- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशव्‍यापी प्रदर्शन हुने भएको छ।

‘निर्मलाको निम्‍ति न्‍याय’ भन्‍दै देशभरका १६ स्थानबाट एकैपटक दबाब भेला हुन लागेको हो।

बलात्कारविरुद्ध आवाज उठाउन गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउँसो १ बजे, भरतपुर,चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्‍जमा दिउँसो १ बजे, पोखरा, मानवअधिकार चोकमा दिउँसो १ बजे, पाँचखाल काभ्रे, समाजकल्‍याण चोकमा बिहान ८ बजे, राजबिराज, भगवती मन्दिर नजिकै दिउँसो १ बजे प्रदर्शनकारीहरु भेला हुँदैछन्।

यस्तै इनरुवा, लोकतान्त्रिक चोकमा दिउँसो १ बजे, इटहरी, रेयूकाई चोकमा दिउँसो १ बजे, धरान भानु चोकमा दिउँसो १ बजे, विराटनगर, ट्राफिक चोकमा दिउँसो १ बजे, बिराट चोकमा दिउँसो १ बजे, दमक, दमक चोकमा दिउँसो १ बजे, झापा,अर्जुनधारामा दिउँसो १ बजे, काँकरभिट्टा, हनुमान मन्दिरमा बिहान ९ बजे र काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शनकारीहरु भेला हुँदैछन्।

यसअघि बिहीबार निर्मलाका आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा कञ्‍चनपुरबाट आएका महिला अधिकारकर्मी र स्थानीयले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन, त्‍यही साँझ माइतीघर मण्डलमा दीप प्रज्जवलन गरिसकेका छन् भने शुक्रबार स्कुल ड्रेसमै विद्यार्थीहरुले नयाँ बानेश्‍वरमा निर्मलालाई न्‍याय देऊ, बालबालिकामाथिको यौन हिंसा बन्‍द गर, दोषीलाई कारबाही गर लगायतमा पम्प्लेट बोकेर प्रदर्शन गरेका छन्।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्