एसएसपी लोहनीलाई थुन्ने आदेश रितपूर्वक देखिएन: उच्च अदालत

एसएसपी दिवेश लोहनी।

विराटनगर- जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत विराटनगरले सुनकाण्डमा मुछिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न निर्देशन दिएको छ।

३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्याप्रकरणमा मुछिएका एसएसपी लोहनीलाई जिल्ला अदालत मोरङले थुनामा राखेको थियो।

जिल्ला अदालतको गत जेठ २८ गतेको निर्णयलाई उल्टाउँदै उच्च अदालतले उक्त आदेश दिएको हो।

शुक्रबार उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासबाट लोहनीलाई साधारण तारेखमा छाड्न आदेश भएको हो।

जिल्ला अदालतको आदेश रीतपूर्वक नदेखिँदा साधारण तारेखमा राखी मुद्दाको कार्बाही अगाडि बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयण रेग्मीले बताएका छन्।

एसएसपी लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै साधारण तारेखमा रिहाइको माग गर्दै अदालती बन्दोवस्तीको १७ नम्बर अनुसार रिट दायर गरेका थिए। लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाडौँका प्रमुख थिए।

सुन तस्करी र शाक्य हत्या मुद्धामा शुक्रबार २४ थान मुद्धाको पेशी चढेको अदालतका सूचना अधिकृत राजनकुमार दाहालले जानकारी दिएका छन् जसको आइतबार अदालतमा पेशी हुनेछ। त्यसैगरी १ थान मुद्धा प्रतिवादी वकिलले निवेदन दिएर स्थगित गराएको बताइएको छ।

अभियुक्त वीरेन्द्रमान श्रेष्ठको पेशी स्थगित भएको हो। २३ थान मुद्धाको विषय समय अभावका अघि बढाउन नसकिएको अदालतले जनाएको छ।

यसअघि अभियुक्तहरु निलम्बित डिएसपी सञ्जय थापा, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत बिराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ। डिएसपी थापालाई बिहीबार, एयरलाइन्स कर्मचारी थारुलाई मंगलबार र मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो। तिनै अभियुक्तहरु मोरङ जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन्।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू