यसपालि पनि केन्द्रबाटै एसइई परीक्षा

काठमाडौँ-सङ्घीयताको कार्यान्वयन भइसकेको सन्दर्भमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा केन्द्रस्तरबाटै हुने भएको छ।

संविधानतः माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकार र स्थानी तहको अधिकार साझा क्षेत्रमा रहेकामा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरेको हो।

आगामी चैतमा हुने सो परीक्षाका लागि बोर्डले आवेदन फारम माग गरिसकेको छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ जारीपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को रुपान्तरण संस्था राष्ट्रिय परीक्षा बोर्ड हो।

यसमा हाल साबिकको परीक्षा नियन्त्रण कार्यालय समायोजन भएको छ। केन्द्र सरकारले कक्षा १० को परीक्षा प्रदेश सरकारको मातहतमा सञ्चालनका लागि कुनै कानूनी र नीतिगत निर्णय नगरेको तथा कुनै पनि प्रदेश सरकारले यसबारेमा कानूनी र नीतिगत आधार तर्जुमा नगरेकाले उक्त परीक्षा यो वर्ष पनि केन्द्रीयस्तरमा हुने भएको हो। हाल कक्षा ८ को परीक्षा मात्र स्थानीय तहबाट सञ्चालन हुँदै आएको छ।

बोर्डका अध्यक्ष अध्यक्ष डा चन्द्रमणि पौडेलले आफूहरुको कार्यक्षेत्रअनुसार कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरिएको र आवश्यक प्रश्नपत्र बनाई प्रदेश सरकारसँगको समन्वय एवं व्यवस्थापनमा परीक्षा सञ्चालन गरिने बताए।

त्यसरी हुने परीक्षाको उत्तरपुस्तिका बोर्डले सम्परीक्षण गरी नतिजा प्रकाशन गर्नेछ । बोर्डले विगतको ११ शाखा कार्यालयलाई गाभी सातै प्रदेशमा आफ्ना प्रदेश कार्यालय खडा गर्ने लक्ष्य लिएको छ।

हाल परीक्षाका लागि जिल्लास्थित विगतमा जिल्ला शिक्षा कार्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाईले व्यवस्थापनको सहयोग गर्दै आएको छ । विगतका पाँच क्षेत्रीय शिक्षा निर्देशनालय खारेज भई सातवटा शिक्षा विकास निर्देशनालय खडा भएका छन्। यी निकायले परीक्षामा के भूमिका निभाउने स्पष्ट छैन।

बोर्डले कक्षा ११ र १२ को राष्ट्रियस्तरको परीक्षा पनि सञ्चालन गर्दै आएको छ। बोर्डलाई संविधान जारी हुनुपूर्वको शिक्षा ऐन संशोधनले विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए÷नभएको सम्बन्धमा मूल्याङ्कन गर्ने र गराउने अधिकार दिइएकामा सोही अधिकारअन्तर्गत परीक्षा सञ्चालन गरिरेहेको छ।

शिक्षाविद् डा मनप्रसाद वाग्ले बोर्डले परीक्षाको नीति र निर्देशिका मात्र जारी गरी परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश सरकारको हुने सङ्घीयताको मर्मअनुसार हुने बताउँदै परीक्षामा अधिकतम् विकेन्द्रीकरणले मात्र विद्यार्थीको मूल्याङ्कन सहज हुने टिप्पणी गरे।

उनले प्रदेश सरकारको सामाजिक मामिलासम्बन्त्री मन्त्रालयले परीक्षाको प्रबन्ध गर्न अग्रसरता लिनुपर्ने जनाउँदै यसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्ड सहयोगी हुनुपर्ने बताए।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्