आजका मुख्‍य खबरहरु: निर्मलाका बुवाआमा गृह मन्त्रालयमा, सुनकाण्डका एसएसपी लोहनी रिहा, छुटेलगत्तै प्रकाण्ड फेरि पक्राउ

छुट्टे लगत्तै फेरि समातिए ‘प्रकाण्ड’


सर्वोच्च अदालतले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न सरकारलाई चेतावनीसहित आदेश दिएपनि सरकारले फेरि अटेर गरेको छ। विप्लव नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मालाई सर्वोच्च परिसरबाटै फेरि पक्राउ गरिएको हो। शुक्रबार उनलाई उदयपुर पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए।

विश्वकर्मा विरुद्ध उदयपुरमा मुद्दा भएकाले उनलाई उता पठाइएको एसएसपी लामाको भनाइ छ। उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले विश्वकर्माविरुद्ध बम विस्फोट गराएको मुद्दा रहेको बताएका छन्। गएको चुनावको बेला उदयपुरमा कांग्रेस नेता नारायणबहादुर कार्कीसहित कार्यकर्ता घाइते भएका थिए। विश्वकर्मालाई त्यही घटनाको अभियोग लागेको छ।

एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा


जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत विराटनगरले सुनकाण्डमा मुछिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न निर्देशन दिएको छ। ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्याप्रकरणमा मुछिएका एसएसपी लोहनीलाई जिल्ला अदालत मोरङले थुनामा राखेको थियो। जिल्ला अदालतको गत जेठ २८ गतेको निर्णयलाई उल्टाउँदै उच्च अदालतले उक्त आदेश दिएको हो।

एसइई परीक्षा केन्द्रबाटै


सङ्घीयताको कार्यान्वयन भइसकेको सन्दर्भमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा केन्द्रस्तरबाटै हुने भएको छ।संविधानतः माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकार र स्थानी तहको अधिकार साझा क्षेत्रमा रहेकामा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरेको हो। आगामी चैतमा हुने सो परीक्षाका लागि बोर्डले आवेदन फारम माग गरिसकेको छ। शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ जारीपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को रुपान्तरण संस्था राष्ट्रिय परीक्षा बोर्ड हो।

प्रकाण्डलाई मुख्य रजिस्ट्रारको रोहवरमा छाड्न सर्वोच्चको आदेश


अदालतले पटकपटक रिहा गर्न आदेश दिँदा पनि प्रहरीले तत्काल पक्रेपछि विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मालाई अदालतका मुख्य रजिस्ट्रारको रोहवरमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।प्रकाण्डलाई सरकार तथा मातहतका पदाधिकारीले गैरकानूनी रुपमा थुनामा राखेको देखिएको र अदालतको आदेश छल्दै पटकपटक पक्राउ गरिएकाले अदालत संवेदनशील भएको जनाएको छ।

प्रकाण्डका भाइ वीरेन्द्र विश्वकर्माले गैरकानुनी थुनामा राखेका भन्दै थुनाबाट मुक्त गरिपाउँ भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। प्रकाण्डलाई दाङको तुलसीपुर उपमहानगरपालिका ५ मा बम बिस्फोट गराई ड्युटीमा खटिएको म्यादी प्रहरी विनोद चौधरी र अन्य ८९ जना घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो।घाइतेमध्ये बिनोद चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो।

न्‍याय माग्‍न निर्मलाका आमाबुवा गृहमन्त्रालयमा


गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।गृहमन्त्री थापाले कञ्चनपुरका महिला अधिकारकर्मी र पीडित परिवारसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन्।हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिएको कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्।

श्रीमती माइतमा, श्रीमानको घरमा हत्‍या


कैलालीको जोशीपुर गाउँपालिका–१ का एक व्यापारीको घरमै राति सुतिरहेको अवस्थामा हत्या भएको छ।स्थानीय किराना व्यवसायी ३७ वर्षीय रामप्रसाद जैशीको विहिवार राती हत्या भएको प्रहरीले जनाएको छ।दुई छोरासहित श्रीमती माईतीघर टीकापुरमा तीज मनाउन गएका बेला उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।

प्रधानसेनापति थापालाई चिनियाँ राजदूतको भेट

भारतीय राजदुत मंजिवसिंह पूरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटेको केही दिनपछि चिनियाँ राजदूत पनि आर्मी हेडक्वाटर पुगेकी छिन्।
शुक्रबार चिनियाँ राजदूत यू हङले थापासँग भेट गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।यसअघि प्रधानसेनापति नियुक्त भएको भोलिपल्ट अर्थात भदौ २५ गते नै थापालाई भेट्न भारतीय राजदुत मनजिभ सिंह पुरी आर्मी हेडक्वाटर पुगेका थिए।

गृहमन्त्रीलाई संसदमा प्रश्‍नै प्रश्‍न

राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानबिन गर्न माग गरेको छ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संसदीय छानबिन समिति बनाई यादवको मृत्युको घटनाबारे छानबिन अघि बढाउन माग गरे।उनले घटनाबारे सत्य तथ्य बाहिर ल्याउन समिति बनोस्, जाँचबुझ होस् भनेर पटक पटक सरकारको ध्यानाकर्षण गराउदा सुनुवाई नभएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए।

सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता


प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन्।प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेको पनि दावी गरे। उनले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा पनि जोड दिए। शुक्रबार काठमाडौंमा आयोजित एक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दूई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दोहोर्‍याए।

निर्मला पन्तको हत्या अनुसन्धान अन्तिम चरणमा


गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानका विषयमा संसदलाई जानकारी गराएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अनुसन्धान र सरकारी छानबिन अन्तिम अवस्थामा पुगेको बताए।उनले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै घटनाको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए। उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी गराए।

पार्टी नेतृत्व नछाड्ने देउवाको संकेत


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन्। सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको प्रतिक्रिया दिएका हुन। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वका लागि नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट विदा लिन पनि आग्रह गरे।कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गर्नु भएको थियो । सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको भन्दै नेतृत्व नछाडने संकेत गरेका हुन्।

निर्मलालाई न्‍याय दिन राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन्। राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराएकी छन्।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँडने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन्।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्