प्रकाण्डले सर्वोच्चको गेटमा प्रहरीलाई सोधे–अदालतको आदेश पढ्नु भएको छ ?

काठमाडौं– शुक्रबार अपरान्ह सर्वोच्च अदालत परिषरबाट खड्गबहादुर विश्वकर्मा बारिंदै थिए। सर्वोच्च अदालतले विश्वकर्मालाई अदालतका मूख्य रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका प्रकाण्डलाई पर्खिएर बसिरहेका थिए, सर्वोच्चको गेटमा ठूलो संख्यामा प्रहरी। प्रहरीको घेराबाटै विप्लव सर्वोच्चको आदेश बोकेर बाहिरिंदै थिए।

गेटमा पुग्नासाथ उनका समर्थक र आफन्तलाई प्रहरीले भित्रै रोक्यो र प्रकाण्डलाई हत्कडी लगाउन खोज्यो । प्रकाण्ड गेटबाहिर निस्कँदै गर्दा उनका समर्थकले नारा लगाउन थाले, ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! जिन्दावाद ! केपी सरकार मुर्दावाद, मुर्दावाद ।राज्य आतंक बन्द गर बन्द गर ।

हतकडी लगाउन लम्किएका प्रहरीलाई प्रकाण्डले सोधे, ‘तपाईले अदालतको आदेश पढ्नु भएको ?’ उनको हातमा अदालतले शुक्रबार दिएको आदेशको प्रतिलिपि पनि थियो । त्यहि कुरा दोहोर्‍याईरहे प्रहरीलाई, ‘ए दाइ तपाईदे अदालतको आदेश हेर्नु भएको छ ?’

प्रकाण्डलाई गेटमै पत्रकारले प्रश्न गरे –तपाईको अहिलेको प्रतिक्रिया के छ ?

उनले भने, ‘अहिलेको ओली सरकार र रामबहादुर थापा गृहमन्त्री अदालतको आदेश मान्न तयार छैनन् । त्यसो भएको हुँदा हामीले के भन्यौं भन्दा खेरि विगतका आन्दोलन र क्रान्ती सबैका उपलब्धीलाई यो सरकारले निस्तेज पार्दैछ । यो नेपाली जनताको सरकार होइन । यो पूर्णचाहिँ दलाल, भ्रष्ट र जनविरोधी तत्वहरुको सरकार हो । यसकाविरुद्ध आम नेपाली जनता सडकमा उत्रिन तयार छन् । यस्को अन्त्ये गर्नु पर्छ, धन्यवाद ।’

त्यसपछि उनलाई प्रहरीले दुवै पाखुरामा समातेर भ्यानमा चडाएर लग्यो ।  कार्यकर्ताहरु भनिरहेका थिए, ‘यस्तो हस्तक्षप पनि हुन्छ ? अदालतको आदेश पनि नमान्ने ?’

सर्वोच्च अदालतले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न सरकारलाई चेतावनीसहित आदेश दिएपनि सरकारले फेरि अटेर गरेको छ। विप्लव नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका विश्वकर्मालाई सर्वोच्च परिसरबाटै फेरि पक्राउ गरिएको हो।

शुक्रबार उनलाई उदयपुर पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए। विश्वकर्मा विरुद्ध उदयपुरमा मुद्दा भएकाले उनलाई उता पठाइएको एसएसपी लामाको भनाइ छ।

उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले विश्वकर्माविरुद्ध बम विस्फोट गराएको मुद्दा रहेको बताएका छन्। गएको चुनावको बेला उदयपुरमा कांग्रेस नेता नारायणबहादुर कार्कीसहित कार्यकर्ता घाइते भएका थिए। विश्वकर्मालाई त्यही घटनाको अभियोग लागेको छ।

यसअघि विभिन्न जिल्लामा प्रकाण्डलाई मुद्दा भएपनि सबै ठाउँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। तर प्रहरीले प्रकाण्डलाई अदालत परिसरबाटै पक्राउ गर्दै अर्को ठाउँमा पुर्‍याउने गरेको छ।

प्रकाण्डलाई हालसम्म पाँच जिल्लामा मुद्दा चलाइसकिएको छ। पहिलो पटक काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न मुद्दामा म्याद थप गर्दै थुनामा राख्दै आएको थियो। तर हरेक जिल्लामा उनलाई तारेखमा छाड्न आदेश दिएपनि प्रहरीले पक्रेर अर्को ठाउँमा मुद्दा चलाउँदै आएको छ।

भदौ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्