बाग्लुङमा पहिरोले नदी थुनियो

पहिरोले बडीगाड खोला थुनियो, आसपासका बस्तीमा जोखिम

फाइल तस्बिर

बाग्लुङ – बाग्लुङको बडीगाड खोला पहिरोका कारण थुनिएको छ । बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा शुक्रबार राति ११ बजेतिर गएको पहिरोका कारण खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिएका छन् ।

ढोरपाटन नगरपालिका–१ र बडीगाड गाउँपालिकाको भर्याङ् क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । खोला थुिनएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका केही घर डुबानमा परेका छन् ।

पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बडीगाड आसपासमा रहेका गाउँहरुमा सचेत रहन आग्रह गरिएको एसपी रेग्मीले बताए । बाग्लुङ तथा गुल्मीका केही गाउँमा जोखिम रहेको छ ।

बिहान पाँचबजेतिरदेखि थुनिएको ठाउँबाट पानी केही निकाश हुन थालेको छ । घटनाको जानकारी पाएपछि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेनासहितको टोली घटनास्थल पुगेको थियो ।

तस्बिर सौजन्य : अनुप क्षेत्री

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्