सिआइबीको संगठन संरचना र कार्य सम्पादन परिमार्जन गर्ने तयारी

फाइल तस्बिर

काठमाडौँ – सरकारले राष्ट्रिय अनुशन्धान विभागको संगठन संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।

सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए सँगै संगठन पुनसंरचना कसरी गर्ने भन्ने बहस चल्दै आएको थियो ।

प्रधानमन्त्री कार्यालयले बनाउने बिधेयक संसदको चालु अधिवेशनमा पेश गर्नेगरी काम हुने बुझिएको छ । यस्तै शुक्रबार बेलुकाको मन्त्रिपरिषदको बैठकले नयाँ संविधानसँग बाझिएका र संशोधन गर्नुपर्ने एक दर्जन भन्दा बढी प्रचलित नेपाल ऐनहरु संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मन्त्रिपरिषदको बैठकले प्रहरी नियमावलीको पाँचौँ संशोधनलाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै बैठकले कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्