फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, ठूलो क्षति हुने चेतावनी

यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन माङ्गखुतका कारण फिलिपिन्सको जनजीवन प्रभावित हुँदै गएको छ । फिलिपिन्सको उत्तरी तटीय क्षेत्रबाट शक्तिशाली आँधी माङ्गखुत प्रवेश गर्दैछ ।

यो आँधीका कारण तीव्र गतिमा हावा चलेको छ भने ठूलो पानी पर्न थालेको छ । फिलिपिन्सका ४० लाख भन्दा बढी मानिसको बसोबास रहेको क्षेत्र आँधीको सीधा मार्गमा पर्ने बताइएको छ ।

माङ्गखुत आँधीको गति अहिले २०० किलोमिटर प्रतिघण्टा रहेको छ र यो ३३० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिइएको छ । आँधीका कारण ६ मिटरसम्मको बाढी आउने चेतावनी दिइएको छ । हजारौँ मानिस सुरक्षित स्थानमा गइसकेका छन् भने अरु पनि जाने क्रममा छन् ।

फिलिपिन्सको इतिहासमा अहिलेसम्मको सबैभन्दा भयानक आँधी सन् २०१३ को सुपुर टाइफुन हाइया हो । यो आँधीका कारण सात हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो भने दशौँलाख प्रभावित भएका थिए ।

अहिलेको आँधी माङ्गखुत आइतबार अपराहन्न हङकङ हुँदै अघि बढ्ने बताइएको छ । यो आँधी मंगलबारदेखि कमजोर हुँदै जाने अपेक्षा गरिएको छ ।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्