फुटबल

१८ वर्षमुनिको विद्यालयस्तरीय एसियन च्याम्पियनसिपका लागि नेपाली टोली तयार

विराटनगर – भारतको आगरामा हुने १८ वर्षमूनिको विद्यालयस्तरीय एसियन च्याम्पियनसिप फुटबलको ४६ औँ संस्करणका लागि नेपाली फुटबल टोली अन्तिम तयारीमा रहेको छ। गएको एकमहिनादेखि विराटनगरमा टोली बन्द प्रशिक्षणमा रहेको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले च्याम्पियनसिपका लागि टोली शतप्रतिशत तयार रहेको बताएका छन्। खेलाडीलाई आगराको वातावरण अनुकुल बनाउनका लागि अखिल नेपाल फुटबल संघले एकमहिना अघिदेखि विराटनगरलाई बन्द प्रशिक्षणको लागि रोजेको हो। प्रशिक्षणको सुरुआतमा ३५ जना खेलाडीलाई राखिएको थियो। जसबाट अन्तिम चरणमा २० जना खेलाडी चयन गरिएको प्रशिक्षक श्रेष्ठको भनाई छ।

प्रतियोगितामा समूह चरणको खेल कठिन रहेको, तर पनि मैदान शतप्रतिशत दिँदै टोलीले समूहचरण पार गर्ने अपेक्षा प्रशिक्षक श्रेष्ठको छ। प्रशिक्षणको सुरुवाति केहीदिन मौसम अभ्यासका लागि अनुकुल भए पनि, पछिल्लो एक हप्ता वर्षाका कारण फिजिकल ट्रेनिङ्गमा खुम्चिनु परेको उनको भनाई छ। प्रशिक्षक श्रेष्ठले पनि विगतमा १६ वर्षमुनिको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनको त्यो अनुभवले विदेशीभूमिमा खेलाडीलाई दबाब बाहिर रहेर खेल्न अभ्यस्त गराइरहेका छन्।

यसबिच टोलीले पूर्वाञ्चलको पूलिस टोली, मोरङ एघार र बेलबारी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा बेलबारीलाई पराजित गर्न सफल टोली मोङग एघार र पुलिससँग भने समान एक गोलको बराबरीमा रोकिन बाध्य भएको थियो। त्यसैगरी टोलीले मोरङको लक्ष्मीमार्गमा आयोजित दोश्रो डागिहाट आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकपमा एन्फाकै अनुमतिमा सहभागिता जनाएको थियो। जहाँ टोली इलामको रेडहर्ष फुटबल क्लबसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा टोली हार बेर्होदै बाहिरिएको सन्र्दभमा प्रशिक्षक श्रेष्ठले भने, ‘अझैपनि हामी फिनिसिङ्गमा सफा भइसकेका छैनौं। फरवर्डमा फिनिसिङ्गको कमी छ। त्यसलाई सुधार्ने प्रयासमा रहेकाछौँ।’ नियमित ४–४–२ को रणनीतिमा मैदानमा जाने बताएका प्रशिक्षक श्रेष्ठले खेल अनुरुप आक्रमक बन्दा पुरानै शैली ४–३–३ को रणनीति अपनाइने स्पष्ट पारे।

त्यसैगरी पहिलोपटक राष्ट्रिय टोलीको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका एन्फाका केन्द्रीय सदस्य रुपेश अधिकारीले क्याम्पको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमी आउन नदिएको बताएका छन्। च्याम्पियनसिपका लागि आफूहरु तयार रहेको र अन्तिम चार नै आफूहरुको सुरुवाति लक्ष्य भएको उनी स्पष्ट पार्छन्।

टोली व्यवस्थापक अधिकारीका अनुसार, मैदानमा २० जना खेलाडीको नेतृत्वदायी भूमिकामा त्रिभुवन आर्मी क्लबका दिनेश हेन्जम रहने छन्।

धनुषाका हेन्जमले यसअघि १६ र १९ वर्षमूनिको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। आगरामा हुने प्रतियोगिताको विषयमा क्याप्टेन हेन्जम भन्छन्, ‘सिनियर टोलीले बेहोरेको हारलाई हामी उपाधि जिताएर छोप्नेछौँ।’

अन्तिम टोलीमा १३ जनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको अनुभव आगरामा काम लाग्ने क्याप्टेन हेन्जमको बुझाइ छ। यद्धपि, ७ जना नयाँ अनुहारलाई मैत्रीपूर्ण खेल र बन्द प्रशिक्षणले दबाबरहित खेल्न प्रेरित गर्ने विश्वास हेन्जमको रहेको छ।

असोज ४ गतेदेखि १० दिनसम्म हुने प्रतियोगिता अन्र्तगत समूह ए मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेसिया र चीनसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसैगरि समूह बी मा आयोजक राष्ट भारत, श्रीलंका, दक्षिण कोरिया र मलेसिया रहेका छन् । १८ वर्षमूनिको विद्यालयस्तरीय एसियन च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्