निर्मलाको न्यायका लागि देशैभर प्रदर्शन, सदन-सडकबाट गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई सार्वजनिक गर्न माग राख्दै शनिबार देशैभर प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिएर सामाजिक सञ्जालबाट विरोध प्रदर्शनका लागि आग्रह गरिएपछि देशैभर प्रदर्शन भएको हो ।

काठमाडौँ सहितका विभिन्न स्थानमा भएको प्रदर्शनमा स्वस्फूर्त रुपमा हजारौँ नागरिकहरु निर्मलाको न्यायका लागि सडकमा उत्रेका छन्।
काठमाडौँ सहित पूर्वमा विराटनगर र पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गरिएको हो।

प्रदर्शनमा वृद्धमहिलासहित ससाना बालबालिकाहरु पनि सहभागी भएका तस्बिरहरु सामाजिक सञ्जालमा छाएका छन्। निर्मला पन्तको हत्या भएको कञ्चनपुर जिल्लामा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले महेन्द्रनगर बजार बन्द गराएको छ भने बाँकेमा महिला तथा पुरुषहरुले आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । पोखरामा पनि नागरिकहरु सडकमा उत्रेका छन् ।

सबै जिल्लाहरुमा भएको प्रदशर्नमा सहभागीहरुले निर्मलालाई न्याय दे, बलात्कारीलाई फाँसी दे, चुप लागेर नबसौँ न्याय मर्न नदिउँ, सरकार देखाउ इच्छा, खै महिलाको सुरक्षा, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी लगायतका नारा लगाएका थिए ।

यसैबीच निर्मलाको न्यायको माग राख्दै भएको प्रदर्शनका सहभागीहरुले शान्ति सुरक्षा कायम गराउन नसकेको भन्दै सरकारका विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले बलात्कारपछि हत्याको घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामाको माग गरेका छन् ।

काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शनपछिको कोणसभाका वक्ताहरुले गृहमन्त्रीले अब पदमा बसिरहन नैतिकताले नदिने बताए।निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त समेत सहभागी रहेको सो प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी फाँसीको सजाय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो।

उनीहरुले ५० दिन नाघिसक्दा पनि न्याय नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामाको माग गरेका हुन्। कोणसभामा बोलेका निर्मलाका बुबा यज्ञराजले भावविह्वल हुँदै आफूहरुलाई न्याय दिन सरकारसँग माग गरे। छोरीको न्यायको खोजीमा आफूहरु काठमाडौँ आउनु परेको उनको भनाई थियो।

यज्ञराजले आफ्नो भनाइ राखिरहँदा उनकी पत्नी (निर्मलाकी आमा) ले आफ्नी छोरीका लागि हात जोडेर न्याय मागिरहेकी थिइन्।

यता निर्मलालाई न्याय दिन नसकेको भन्दै सडकबाट गृहमन्त्रीको राजीनामाको माग भइरहँदा सदनमा पनि उनको चर्काे आलोचना भएको छ । कांग्रेस नेता गगन कुमार थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमता दुवैमा बादल लागिसकेको खरो टिप्पणी गरेका छन् ।

उनले ‘सोच र क्षमता दुवैमा बादल लागिसकेको गृहमन्त्री अब हामीलाई आवश्यक छ र ?’ भन्दै सदनमा प्रश्न गरेका थिए । सदन र सडक दुवै ठाउँबाट गृहमन्त्रीको आलोचना भएपछि उनी दबाबमा परेका छन्।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्