निर्मला हत्या प्रकरणकाे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीलाई पेश, प्रहरीमाथि गहिरो अनुसन्धान गर्न सुझाव

फाइल तस्बिर।

काठमाडौँ – १३ वर्षीय निर्मला पन्तको हत्याको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो।

समितिले प्रतिवेदनमार्फत निर्मला पन्तको हत्यापछि गर्नुपर्ने अनुसन्धानमा प्रहरीको गम्भीर लापर्बाही देखिएकोले त्यतीबेला अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुझाव पेश गरेको छ।

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारकै मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको हाे।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको बताए।

पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको गृहमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

मन्त्रालयले अपराधी पत्ता लगाई कारबाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ।

भदौ ३०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्