बलिया टिमलाई चकित पार्दै आएको वाट्फोर्डको पहिलो हार, म्यानचेस्टर युनाइटेडले जित्यो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानम भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई २–१ ले हराएको हो ।

युनाइटेडको जितमा रामेलु लुकाकु र क्रिस स्मोलिङ्गले गोल गरे । वाट्फोर्डका लागि आन्द्रे ग्रेले गोल गरे । युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको हो । दोस्रो आफमा वाट्फोर्ड बलियो बनाएर आएको थियो ।

अन्तिमको २० मिनेट म्यानचेस्टर युनाइटेडमाथि वाट्फोर्ड दबाब निकै देखियो । ३५ औँ मिनेटमा लुकाकु र ३८ औँ मिनेटमा स्मोलिङ्गले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ६५ औँ मिनेटमा ग्रेले वाट्फोर्डका लागि एक गोल फर्काए ।

अन्तिम तिर दबाबमा आएको म्यानचेस्टर युनाइटेडका नेमानिया माटिस खेलको इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

लगातारको दुई हारपछि म्यानचेस्टर युनाइटेडले लिगमा लगातार दुई जित दर्ता गरेको छ । तर यो सिजन निकै बलियो देखिएको वाट्फोर्डले पहिलो हार बेहोरेको छ ।

यसअघिका चार खेलमा उसले लगातार जित निकाल्दै बलिया भनिएका टिमलाई चकित पार्दै आएको थियो । जितपछि युनाइटेडको पाँच खेलबाट ९ अंक भएको छ भने वाट्फोर्डको १२ अंक रहेको छ ।

भदौ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्