राष्ट्रिय परीक्षा टप गरेकी युवतीमाथि सामूहिक बलात्कार, अभियुक्तको तस्बिर सार्वजनिक

भारत हरियाणाको रेवाडीमा १९ वर्षकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेका तीनजनाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।

कोचिङ्गका लागि जाँदै गरेकी युवतीलाई गएको बुधबार स्थानीय केही युवाले कनीना बस स्टपबाट अपहरण गरेका थिए । उनीहरुले युवतीलाई सुसान स्थानमा लगेर नशालु पदार्थ खुवाई बेहोस बनाएर सामूहिक बलात्कार गरेको आरोप छ ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड, सिबिएसई बोर्डको परीक्षामा टप गरेकी युवतीमाथि गाउँकै युवाले बलात्कार गरेका हुन् । युवतीले भारतीय रेलवे सेवामा प्रवेशका लागि परीक्षाको तयारी गरिरहेकी थिइन् ।

बलात्कार गर्ने युवाको समूहमा एकजना सेनाको जवान पनि रहेको आरोप छ । प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गर्दै उनीहरु बारेमा जानकारी दिनेलाई एक लाख भारु दिने घोषणा पनि गरेको छ। सबै अभियुक्त अहिले फरार छन् ।

राष्ट्रिय महिला आयोगले अनुसन्धानका बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएको छ । यो घटनामा भइरहेको अनुसन्धानमा सेनाले प्रहरीलाई सहयोग गर्ने भएको छ ।

सिबिएसई बोर्डको परीक्षामा सर्वोत्कृष्ट भएकी ती युवतीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेका थिए ।

पीडित युवतीकी आमाले भनेकी छन्, ‘परीक्षा टप गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मेरी छोरीलाई सम्मानित गरेका थिए । मोदीले भन्दैआउनुभएको छोरी पढाउ, छोरी बचाउ । तर अहिले म छोरीको न्यायका लागि चिच्याइरहेकी छु ।’

भदौ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्