नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनसँग कुराकानी

‘राइट टाइम राइट डिसिजन’ भएन, मालदिभ्ससँग हार्नु सपनाजस्तै

‘राइट टाइम राइट डिसिजन’ भएन, मालदिभ्ससँग हार्नु सपनाजस्तै

विराज महर्जन। तस्बिरहरु: प्रभात खनाल

काठमाडौं- दक्षिण एसियाली फुटबल महासंघ- साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल पुग्ने लक्ष्यसहित यसपटक बंगलादेश पुगेको नेपालका लागि ‘ फाइनल स्टेप’ भारी भयो। सेमिफाइनलमा मालदिभ्ससँग पराजित भएपछि फेरि  पनि साफ च्याम्पियनसिपको फाइनल नेपालका लागि सपना नै बन्यो।

यो प्रतियोगितामा नेपाल हालसम्म पाँचपटक सेमिफाइनल पुगेको छ र पछिल्ला सात वर्षमा मात्र तीनपटक। साफ च्याम्पियनसिप सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि उपाधि जित्न सक्ने एकमात्र ‘रियल चान्स’ रहेको प्रतियोगिता मानिन्छ।

तर, प्रतियोगिताको  २५ वर्षे इतिहासमा फाइनल पुगेको अनुभव हात पार्ने मौका नेपालले पाएन। नेपाललाई पछिल्लो समय लगातार बाधक बनिरहेको अफगानिस्तानले साफ क्षेत्र छाडेकाले यसपटक नेपाललाई केही सहज थियो। अफगानिस्तान पछिल्ला तीन संस्करणमध्ये एकमा विजेता र दुईमा उपविजेता बनेको थियो। यीमध्ये दुईपटक अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई झिनो अन्तरमा हराएको थियो। अर्कोतर्फ यसअघि केवल एकपटक मात्र फाइनल पुग्न नसकेको भारत यसपटक सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी थिएन।

भिडियो हेर्नुहोस्:

एसियाली फुटबल महासंघ-एएफसीले साफलाई अर्कै क्षेत्रमा गाभ्ने तयारी गरिरहेकाले अब साफ च्याम्पियनसिप हुने सम्भावना कम छ। करिब एक दशकदेखि नेपाली सिनियर टोलीको नियमित सदस्य रहेका रक्षक विराज महर्जन यसपटक टोलीको कप्तान थिए। नेपाली टोलीले गोल्डेन अवसर गुमाएको उनको भनाइ।

यसै सेरोफेरोमा रहेर देशसञ्चारका लोकेन्द्र प्रसाईँले साफ च्याम्पियनसिप खेलेर फर्किएका महर्जनसँग कुराकानी गरेका छन्।

१. पछिल्ला केही वर्षमा नेपाली फुटबल नयाँ उचाइमा देखिएको थियो। खासगरी,लगातार तीन वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेपछि धेरैको अनुमान थियो- साफ च्याम्पियनसिपमा नेपाल अब चाहिँ फाइनल पुग्छ। तर फेरि पनि…..

– हामी पनि निकै उत्साही थियौं। फाइनल पुग्ने यो नै गोल्डेन अवसर हो भन्नेमा हाम्रो एकमत थियो। सम्पूर्ण खेलाडीमा पोजिटिभ भाइभ्स र टिम स्पिरिट थियो। दुर्भाग्यवश पहिलो खेलमा पाकिस्तानसँग हार्‍यौं। तर दोस्रो र तेस्रो खेलमा जित हात पारेर हाम्रो मनोबल उच्च भएको थियो। हामी उपाधि जित्न सक्ने टोलीको छाँट देखाउन थालेका थियौं। हाम्रा खेलाडीको हाउभाउ पनि सोही किसिमको थियो।

तेस्रो खेलमा घरेलु टोली बंगलादेशलाई हराउनैपर्नै जुन चुनौती हामीलाई थियो र जसरी त्यसमा सफल भयौं, सबैले हामीले नै  उपाधि जित्न सक्छौं भनेर अनुमान लगाउन थालेका थिए। सबैकुरा हामीले चाहेको र खोजेको अनुसार हुँदै थियो। मैले सेमिफाइनल अघि भनेको थिएँ- मालदिभ्सविरुद्ध हामी कन्फिडेन्ट छौं तर ओभर कन्फिडेन्ट छैनौं। तर हाम्रो भाग्यमा फाइनल पुग्न लेखेको रहेनछ। चित्त त बुझाउनै पर्‍यो। वी ह्याभ टु डिल इट। अब विगत सम्झिएर हुन्न, गल्ती सुधारेर अगाडि बढ्नैपर्छ। हामीसँग ‘नेक्स्ट टाइम र नेक्स्ट ट्राइ’ को अवसर छँदै छ नि।

२. साफ च्याम्पिनयसिपमा कम्तीमा फाइनल पुगेको भएपनि नेपाली फुटबलले अर्को नयाँ उचाइ प्राप्त गर्ने थियो। तपाईँले पाँचवटा साफ च्याम्पियनसिप खेल्नु भयो त्यसमा नेपाल तीनपटक सेमिफाइनल पुग्यो। हरेकपटक सेमिफाइनल खेल्दा फाइनल पुग्ने तीव्र भोक र सेमिफाइनलबाट बाहिरिँदाको अनुभवबारे भन्दिनुस् न ?

– हरेक पटक सेमिफाइनल खेल्दाको क्षण खेलाडी जति अरुले सायदै अनुभव गर्न सक्छ। यो त्यस्तो अवस्था हो कि मानौं तपाईले अब एक स्टेप मात्र अगाडि बढ्नु भयो भने इतिहास कोरिने छ, सिंगो राष्ट्र खुसी हुने छ। तपाईँको इतिहास त्यसैका लागि तड्पिरहेको छ। तर फेरि पनि असफल हुनुहुन्छ। यो त एक सयबाट एकैपटक शून्यमा झरेजस्तो हुन्छ, दिमागले केही सोच्नै सक्दैन।

बंगलादेशबाट फर्किएपछि हरेक दिन बिहान उठ्दा सपनाबाट बिउँझिएजस्तो भइरहेको छ। तपाईँको लगातारको इफोर्टले होला होला जस्तो हुने तर फेरि पनि नहुने, तपाईँ सायद मेरो स्थिति अनुभव गर्न सक्नु हुन्छ। यस्तो कुरा सधैँ मनमा खड्किने रहेछ। मालदिभ्ससँग हारिसकेपछि खेल हेर्न आउनुभएका नेपाली समर्थक रोएको देखेका थियौं। हामी पनि मनमनै धेरै रोएका थियौं। फ्यानको रुवाइले मन थप रुने रहेछ।

३. समूहगत चरणमा गोल नै नगरेको मालदिभ्ससँग नेपाल सेमिफाइनलमा ३-० गोलले पराजित भयो। आखिर कहाँ चुक्यो नेपाल ?

-फुटबल भनेको सर्ट एन्ड स्विट गेम हो। ९० मिनेटको खेलमा फ्राक्सन अफ सेकेन्डमा प्राप्त हुने अवसरमा गोल गरेन र फ्राक्सन अफ सेकेन्डमा सही निर्णय गर्न सकेन भने पछाडि परिन्छ। हो, हामीमा टिम युनिटी थियो। तर टिम कम्बिनेसनमा हामी कहिँ कतै चुक्यौं। सेमिफाइनलजस्तो खेलमा राइट टाइममा राइट डिसिजन गर्न सकेन भने महँगो हुन्छ। एउटा खेलाडीले गरेको गल्तीलाई अर्को खेलाडीले कभर नगर्ने हो, खेलाडीले सही डिसिजन गरेर बल नखेल्ने हो भने ससाना गल्तीले हामी पछाडि पर्न सक्छौं। फुटबल टिमले खेल्नुपर्छ र खेलाडीले टिमका रुपमा खेल्नुपर्छ। कहिलेकाहिँ स्मल मिस्टेक्स म्याटर। खेलाडीको मेन्टल र फिजिकल कम्बिनेसन हुनैपर्छ।

दुवैमा फास्ट एन्ड फिट हुनैपर्छ। यी कुरामा ध्यान पुर्‍याउन सकिएन भने पछि पछुतो मान्नुको विकल्प हुँदैन। मालदिभ्ससँग पनि यिनै गल्तीहरु भए। हामी दिमागले फुटबल खेल्न चुक्यौं कि!  कहिँ कतै फिजिकलमा मिहेनत कम  पुग्यो कि!  कहिलेकाहिँ हामी जित्नैपर्छ त भन्छौं तर जित्न कसरी खेल्नुपर्छ भन्नेमा चाहिँ चुक्छौं। यसअघि सन् २०११ र २०१३ मा सेमिफाइनल खेल्दा जुन जोस र स्तर थियो हाम्रो त्यो चाहिँ अहिले नदेखिएकै हो। सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा फाइनल नपुग्नु नै एेतिहासिक अवसर गुमाउनु बराबर थियो। हामीले उपाधिको हकदार भएर पनि फाइनलमा पुग्न सकेनौँ।

४. पछिल्ला केही प्रतियोगितामा तपाईले नेपालको कप्तानी गर्दै सफलता दिलाउनुभएको थियो। यसपटक पनि तपाईँलाई कप्तानीको जिम्मेवारी दिइएको थियो। तर पहिलो खेलपछि सुरुवाती ११ मा स्थान बनाउनु भएन। भलै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नु भयो।  लगातार लामो समय पहिलो रोजाइबाट खेलिरहेको खेलाडी बेन्चमा बसेर खेल हेर्नुको अनुभव कस्तो हुने रहेछ ?

– बिल्कुलै नरमाइलो। कुनै पनि खेलाडीलाई खेल्न नपाउनुको जत्तिको पीडा अरु केही हुन्न। तर एउटा खेलाडी सधैँ फिट हुन्छ भन्ने छैन र सधैँ राम्रो खेल्न सक्छ भन्ने पनि छैन। म सधैँ टिकिरहन्छु भन्नु पनि मुर्खता हो। तपाईँलाई नढाँटी भन्दा दोस्रो खेल अघि भएको टिम मिटिङमा जानु अघिसम्म मलाई थाहा थिएन- म आज सुरुवाती टोलीमा छैन। तर म टोलीको कप्तान भएकाले टिमको सफलता पहिलो प्राथमिकता हो। सायद कोचले मभन्दा राम्रो खेलाडी देख्नु भयो। मुख्य कुरा टिमले जित्नुपर्‍यो र जित्यो पनि। भाइहरुले खेल्नु मैले खेल्नु जसरी हो। म पोजिटिभ मान्छे। अहिले खेल्न पाइन भन्दा पनि नेपालका लागि पुरा समय खेलेका ६६/६७ खेलका हरेक क्षण मेरो सम्झनामा छन्। यी मेरा सम्पति हुन्।

५.नेपाली फुटबल अहिले कहाँ छ ?

-हामी राम्रो खेल्दाखेल्दै दाबेदार हुँदा हुँदै पनि उपाधि जित्न सकिरहेका छैनौं। हाम्रो मात्र नतिजा आइरहेको छैन। दक्षिण एसियामा हामी जहिले पनि फेबराइट हौं। हामी हरेकपटक खेल्दा उपाधि दाबेदार टोली भन्छन्। यसपटक पनि सेमिफाइनलसम्म पुग्यौं। यो नराम्रो नतिजा होइन। मात्र विगतमा उपाधि जित्न नसकेकाले हामीलाई कम लागेको हो। यत्ति हो- हामी अझ धेरै गर्न सक्छौं ,धेरै टाढा पुग्न सक्छौं। हामीले दक्षिण एसियामा हरेक टोलीलाई हराएका पनि छौं। अहिले नेपाली टोलीमा धेरै खेलाडी यू-२३ का छन्। उनिहरु निकै राम्रा छन्। उनीहरुसँग राम्रो स्किल र सम्भावना छ। मात्र अब उनीहरुले राइट टाइममा राइट डिसिजन गर्ने क्षमता विकास गर्नुपर्छ। यसका लागि उनीहरुले आफ्ना गल्ती औंल्याएर सुधार गर्नुपर्छ।

भदौ ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्