विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाईँदै

फाइल तस्बिर।

काठमाडौँ – आश्विन सङ्क्रान्तिका दिन सोमबार कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताए ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बिचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले सोमबार भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । यो दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

असोज १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्