माइती नेपालको सेफ हाउसबाटै भागे दुई किशोरी, अवस्था अज्ञात

फाइल तस्बिर

धनगढी – संरक्षण र मनोपरार्शका लागि माइती नेपाल धनगढीको सेफ हाउसमा राखिएका दुई किशोरी फरार भएका छन् ।

उनीहरु गत शनिबार राति १० बजे भागेका हुन । हालसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए ।

एक १४ वर्षीया र अर्की १६ वर्षीया किशोरीलाई संरक्षण र मनोपरामर्शका लागि केही दिनअघि सेफ हाउसमा राखिएको थियो । झुलको डोरी बनाइ खानेपानीको पाइपमा बाँधेर घरको माथिल्लो तलाबाट झरेर दुवै जना फरार भएका चौधरीले जानकारी दिए । किशोरीको खोजीका लागि प्रहरी तथा अन्य निकायमा पनि खबर गरिएको उनले बताए ।

डोटी जोरायल घर भएकी १६ वर्षीय किशोरीलाई उनका आफन्तले भदौ २१ गते सेफ हाउसमा राखेर गएका थिए । गाउँकै २६ वर्षीय लोकबहादुर बिकले ती किशोरीलाई विहे गर्ने भनेर केही दिनअघि भगाएर लगेका थिए ।

तर उमेर नपुगेकी किशोरीसँग शारीरिक सम्बन्ध राखेको र विवाह गर्न खोजेको भन्दै डोटी प्रहरीले बिकलाई पक्राउ गरेर उनी विरुद्ध जबरजस्ती करणीको मुद्दा चलाएको छ । गाउँमा बस्ने अवस्था नभएको भन्दै आफन्तले संरक्षण र परामर्शका लागि ती किशोरीलाई माइती नेपालमा राखेका थिए ।

उनीसँगै फरार भएकी कैलालीको चुरे गाउँपालिका घर भएकी १४ वर्षीय किशोरीलाई गएको शुक्रबारदेखि सेफ हाउसमा राखिएको थियो । उनी यसअघि पनि डेढ साता माइती नेपालकै सेफ हाउसमा बसेर गएकी थिइन् ।

माइती नेपाल धनगढीका प्रमुख चौधरीका अनुसार धनगढीको त्रिनगर सीमा क्षेत्रमा अलपत्र अवस्थामा भेटिएको भन्दै प्रहरीले ती किशोरीलाई साउन १९ गते माइती नेपालमा बुझाएको थियो । चौधरीका अनुसार साउन ३० गते उनलाई आफन्तको जिम्मा लगाइएको थियो ।

घरबाट भागेर भारत जान लागेको भन्दै आफन्तले आग्रह गरेपछि गएको शुक्रबार पुनः सेफ हाउसमा राखिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले सेफ हाउसबाट दुई किशोरी फरार भएको भनेर जाहेरी आएकोले उनीहरुको खोजी भइरहेको बताए ।

असोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्