विमानस्थल निर्माणमा चिनियाँ कम्पनीको चासो

सुर्खेत- कर्णाली प्रदेशमा विमानस्थल निर्माणमा एक चिनियाँ कम्पनीले चासो देखाएको छ।

सबै जिल्लामा सडक सञ्जालको पहुँच पुग्न नसकेको कर्णाली प्रदेशमा छिमेकी मुलुकका स्वामित्वमा रहेका कम्पनीले विमानस्थल निर्माणमा लगानी गर्ने भएको हो।

प्रदेश सरकारको पहलमा नर्थ वेस्ट एभिएसन कम्पनीले विमानस्थल निर्माणका लागि अध्ययन थालेको हो।

मुगु जिल्लाको रारामा विमानस्थल निर्माणका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसहितको चिनियाँ लगानीकर्ताको टोलीले सम्भावित क्षेत्रमा अवलोकन गरेको छ। रारामा हाई अल्टिच्युट विमानस्थल निर्माण गर्न लागिएको हो। जसका लागि नर्थ वेस्ट एभिएसन कम्पनीले लगानी गर्न सकारात्मक देखिएको छ।

सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको राराको विमानस्थल निर्माणमा उक्त कम्पनीले लगानी गर्न तयार रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। चिनिया सरकारको स्वामित्व रहेको उक्त कम्पनीले हाल भैरहवा विमानस्थल निर्माण कार्य गरिरहेको छ।

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पछिल्लो समय विदेशी लगानी भित्रिन थालेको उनले बताए। पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी जुटाउन प्रदेश सरकार लागेको मुख्यमन्त्रीको भनाई छ ।

कर्णालीको पर्यटन विकासका लागि रारा क्षेत्रमा ठुला होटेल, रिसोर्ट र विमानस्थल आवश्यक भएकोले प्रदेश सरकारले लगानीकर्ताको खोजी थालेको थियो । उक्त लगानी कम्पनीले अतिरिक्त जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाईड्रोपावरलगायतका क्षेत्रमा अवलोकन समेत गरेको छ ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्