रानीपोखरीलाई मौलिक शैलीमै बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं – संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले रानीपोखारीको पुननिर्माण गर्दा आधुननिकीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।

स्थलगत अध्ययनपछि पर्यटन नागरिक उड्यन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीलाई बोलाएर पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा सांसद माधवकुमार नेपाल नेतृत्वको समितिले मौलिक शैलीमै रानीपोखरीको पुननिर्माण गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाले आधुनिक शैली र सिमेन्ट, रड र रोडा प्रयोग गरेर रानीपोखरी पुननिर्माण थालिएपछि चर्को विवाद भएको थियो । विवादपछि महानगरपालिकाले पुरानै शैलीमा रानीपोखरी निर्माण गर्ने निर्णय गरे पनि अझैसम्म काम सुरु हुन सकेको छैन ।

अन्तराष्ट्रिय समितिले माधव नेपालको संयोजकत्वमा गठित पाँच सदस्यीय उपसमितिले साउन २४ गते रानीपोखरी र हनुमान ढोका दरबार क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै समितिले मंगलबार मल्लकालीन शैली र स्वरुपमै यथाशीघ्र परम्परागत निर्माण सामाग्री प्रयोग गरेर निर्माण कार्य अघि बढाउन भनेको हो । जवाफमा संस्कृति मन्त्री अधिकारीले उपसमितिको सुझाव अनुसार नै सरकारले पुननिर्माणलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

समितिले आधुनिक सिमेन्ट र रड प्रयोग गरी निर्माण गर्दा र त्यसलाई भत्काउँदा लागेको एक करोड ६४ लाख रुपैयाँ अझै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसअघि विज्ञहरुले पनि काठमाडौं महानगरपालिकालाई मौलिक शैलीमै बनाउन मेयर विद्या सुन्दर शाक्यलाई सुझाव दिएका थिए ।उपसमितिले रानीपोखरी निर्माणका लागि एक्कैपटक सबै रकम नचाहिँने हुँदा काम सुरु गर्दै स्रोत जुटाउन सुझाव दिएको छ ।

समितिले रानीपोखरीमा रहेका शिव मन्दिर, आगमछे, गोपीनाथ र जगन्नाथ मन्दिरलाई आफ्नै लगानी बनाउन निर्देशन दिएको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका संयोजक नेपालले तान्त्रिक विधिद्वारा पूजा हुने ती मन्दिरमा विदेशी उपस्थित हुन नहुने स्थानीय बासिन्दाको मान्यता रहेकाले त्यसलाई ध्यान दिनुपर्ने बताए ।

समितिले पोखरीको बीचमा रहेको वालगोपालेश्वर महादेवको मन्दिरको पुननिर्माण अन्तिम चरणमा पुगेको र तिहार अघि नै सकिने अवस्थामा रहेको उल्लेख गरेको छ । वालगोपालेश्वर मन्दिरमा वर्षको एक दिन भाइटिकाको दिन मात्र खुला हुने गर्छ ।

उपसमितिले हनुमान ढोका क्षेत्रका ऐतिहासिक तथा पूरातात्विक महत्वका संरचना केही निर्माण भइसकेको, केही निर्माणको क्रममा रहेको पाइएको जनाएको छ ।

असोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्