अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो मार्चमा, यस्तो छन् लगानी बोर्डका अन्य निर्णयहरु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठक। फाइल तस्बिर।

लगानी बोर्डले नेपालका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आउँदो मार्च महिनामा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्डको ३२ औँ बैठकले यो निर्णय गरेको हो।

त्यस्तै बोर्ड बैठकले पश्चिम सेतीमा चाइनाको थ्री गर्जेजले निर्माणमा अनिच्छा देखाएपछि यो परियोजनालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योगमन्त्री सम्मिलित उच्चस्तरीय समिति बनाउने निर्णयसमेत गरेको छ। समितिको सचिवालय लगानी बोर्डको कार्यालय नै हुने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै औद्योगिक पूर्वाधारको अभावले विकास निर्माणको समय लम्बिने, लागत बढ्ने गरेको बिषयलाई मध्यनज़र गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माण कर्तालाई बनाउन दिने र त्यसको शोधभर्ना नेपाल सरकारले उपलब्ध गराउने गरी कार्य बिधि बनाउन लगानी बोर्डलाई निर्देशन दिइएको छ।

यस्तो कार्यविधिलाई मन्त्रिपरिषदको बैठकले निर्णय गरी लागू गराउने पनि बोर्डको बैठकले निर्णय गरेको छ।

त्यस्तै, जापान क्लब इन्टरनेशनलले होटल निर्माणको लागि गरेको प्रस्ताव बोर्ड बैठकले स्वीकृत गरेको छ। जापान क्लब इन्टरनेशनलले काठमाडौँ, भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ। १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरी प्रस्ताव गरेको छ।

असोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्