२८–० को जित : पहिलो हाफमा १६, दोस्रोमा १२ गोल

फुटलबको एक खेलमा बढीमा कति गोल होला ? आँकलन गर्ने धेरैले बढीमा दर्जन अर्थात १२ गोल वा त्यसकै हाराहारीमा होला भन्लान् ।

हुन त ९० मिनेटको खेलमा गोल हुने सम्भावना धेरै नै हुन्छ तर विपक्षी टिमले पनि हुने भएकाले एकोहोरो गोलको सम्भावना कमै देखिन्छ । तर पोर्चुगलमा एउटै खेलमा एउटै क्लबले दुई दर्जन भन्दा पनि बढी गोल गरेको छ ।

पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ ।

दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८–० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन ।

दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६–० को अग्रता लियो । दोस्रो हाफमा थप १२ गोल भयो । बेन्फिकाका ९ खेलाडीले गोल गरे । बेन्फिकाले महिला टिम सन् २०१७ को अन्त्यतिर गठन गरेको हो । तर नयाँ टिम भएकाले उसले दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्नु परेको हो ।

गएको अप्रिलमा क्लबमा अनुबन्धित भएकी डार्लेनी डी सुजा एक्लैले ८ गोल गरिन् । पोर्चुगलको फुटबल इतिहासमा सिनियर स्तरको खेलमा यो सबै भन्दा फराकिलो जित हो । यसअघि सन् १९७१ मा पोर्चुगिज कपमा स्पोर्टिङ्गले २१–० को जित निकालेको थियो ।

अशोज २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्