राष्ट्रपति भण्डारी : संविधानले लोकतन्त्रलाई समृद्ध बनाउने मार्ग बनायो

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, “सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसाथ गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।”

संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

नेपालको संविधान जारी भएपश्चात संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उनले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरेकी छन् ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धीको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनुभएका नेपालीलाई राष्ट्रपतिले आह्वान गरेकी छन् ।

असोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्