उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन जाँदै

फाइल तस्बिर।

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन् । ६ दिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही बिहीबारदेखि सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले बिहीबार अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले भ्रमणका क्रममा ‘एक क्षेत्र एक मार्ग’(बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।

उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौँ आइपुग्ने छन् ।

असोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्