यमनमा भोकमरी, चपेटामा बालबालिका

पूरै पुस्ता सखाप हुने खतरा

यमनमा थप १० लाख भन्दा बढी बालबालिका भोकमरीको जोखिममा रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।

द्वन्द्वग्रस्त यमनका थप परिवार खाद्यान्नको बढ्दो मूल्य र यमनी मुद्राको घट्दो मूल्यका कारण खाद्य असुरक्षाको जोखिममा पुगेका छन् ।

अहिले यमनका कुल ५२ लाख बालबालिकाले भोकमरीको समस्या भोगिरहेको र थप १० लाख बालबालिका जोखिममा रहेको सहायता संस्था सेभ द चिल्ड्रेनले जनाएको छ । यमनको बिद्रोही नियन्त्रित क्षेत्र जहाँबाट सहायता सामग्री प्रवेश गराइन्छ, त्यहिँको अवस्था नाजुक देखिएको छ ।

यमनका सन् २०१५ को सुरुदेखि गृह युद्ध हुँदै आएको छ । हुथी बिद्रोहीले देशको पश्चिमी क्षेत्रका अधिकांश भागमा नियन्त्रण कायम गर्दै राष्ट्रपति मन्सुर हादी देशबाट बाहिर जान बाध्य भएका थिए । त्यसपछि यमनमा युद्ध सुरु भएको हो ।

इरान, युएई, साउदी अरेबियासहित अरु सात अरब राष्ट्रले यमनमा सरकार पुनर्स्थापित गर्ने नाममा सैन्य आक्रमण थालेपछि सर्वसाधारण थप प्रभावित भएका हुन् ।

युद्धका कारण यमनको आर्थिक अवस्था नाजुक भएको छ । सरकारी कर्मचारी तथा अरु क्षेत्रमा कार्यरतले तलब पाउन सकेका छैनन् । यस्तै धेरैले दुई वर्षभन्दा लामो समयदेखि पारिश्रमिक पाएका छैनन् ।

यो अवधिमा खाद्यान्नको मूल्य ६८ प्रतिशत भन्दा धेरैले बढेको छ । यस्तै यमनी रियालको मूल्य १८० प्रतिशतले घटेकाले भोकमरीको समस्या भयानक बनेको सेभ द चिल्ड्रेनले उल्लेख गरेको छ ।

दशौँ लाख बालबालिकालाई आफूले अब अहिले खान पाउँछौँ भन्ने थाहा नै नरहेको सेभ द चिल्ड्रेनले बताएको छ । बालबालिकाहरु रुन पनि नसक्ने अवस्थामा पुगेको सेभ द चिल्ड्रेनले जनाएको छ ।

अहिलेको युद्धले यमनको हुर्किँदै गरेको पूरै पुस्ता सखाप गर्ने खतरा बढेको छ । यमनका बालबालिका बमसँगै भोकमरी, महामारीजन्य रोगको जोखिम सहन बाध्य रहेको भन्दै तत्काल सहायता र युद्ध रोक्ने पक्षमा काम हुनु पर्ने सहयोगी संस्थाले बताएको छ ।

यो वर्षको अन्त्यसम्म ३६ हजार भन्दा धेरै बालबालिकाले जीवनको अन्तिम सास फेर्ने सम्भावना रहेको भन्दै चिन्ता जनाएको छ ।

यमनमा जारी हिंसाको क्रममा अहिलेसम्म १० हजार मानिसको ज्यान गएको र त्यसमा दुई तिहाई सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । यस्तै ५५ हजार भन्दा धेरै घाइते भएका छन् ।

तस्बिर : एएफपी र सेभ द चिल्ड्रेन

असोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्