पोखरा–बागलुङ सडक दैनिक सात घण्टा बन्द

फाइल तस्बिर ।

पोखरा – मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ ।

सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो ।लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ ।

सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए । सडक खुला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको उनले बताए ।

असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाईसमेत हटाएर सडक फराकिलो बनाउने काम भएको म्यानेजर भुसालले बताए ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहारपछि कामलाई अझै तीव्र बनाउने बताइएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउन मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको छ ।

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको अवस्थामा स्तरोन्नति गर्न थालिएको हो । सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो भने साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमासमेत जोखिम बढेको थियो ।

अशोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्