संविधान दिवसलाई कालो दिन भन्दै वीरगञ्जमा कार्यक्रम

संविधान विषयक कार्यक्रममा सहभागी हुँदै नेताहरु। तस्बिरहरु: प्रतिभा झा

नेपालको संविधान २०७२ बारे यसप्रति आलोचनात्मक धारणा राख्ने जमातद्वारा वीरगञ्जमा दुईदिने कार्यक्रम सुरु भएको छ। ‘जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन’ विषयक दुईदिने कार्यक्रमको पहिलो दिन संविधानबारे थुप्रै चर्चा/परिचर्चा भए।

संविधान पुनर्लेखन वा संसोधन विषयक सत्रमा सहभागी फोरमका नेता तुलानारायण साहले भने, ‘आजको दिनलाई कालो दिनकै रुपमा आफूले लिएको छु।’  उनले असोज ३ लाई कालो दिनकै रुपमा लिएको र वीरगञ्जलाई सलाम गर्ने बताए। ‘म पार्टीसँग आबद्ध भएको भए पनि असोज ३ लाई म कालो दिनकै रुपमा लिने गर्छु,’ उनले भने।

उनले थपे, ‘संविधान जारी भएको बेला मधेशमा रगत बगेको थियो, त्यस कारण म कालो दिनको रुपमा व्याख्या गर्छु।’

कांग्रेसका नेता अजय द्विवेदीले सत्रलाई सम्बोधन गर्दै भने, ‘त्यसबेला संबिधान जारी न भएको भए के हुने थियो?’ उनले यसबारे विचार गर्न सहभागीलाई आग्रह गरे। ‘आजका मधेशवादी आफ्नो मुद्दादेखि भट्किसकेका छन्, यदि अहिले पनि यो संबिधानलाई हामीले गौदान गर्ने हो भने कसको हातमा जान्छ यो देश?’

सत्रमा बोल्दै अधिवक्ता शंकर लिम्बुले यो संविधानको अवसान हुने पक्का रहेको बताए।  अहिलेको संबिधानमा नेपालको सार्वभौमसत्ता र अखण्डताको नाम उल्लेख भएको बताउँदै यो शब्दावली नै हटाउनुपर्ने उनले बताए।

अधिकारकर्मी दुर्गा सोबले यो संविधानमा धेरै ठूलो परिवर्तन र संशोधन हुनुपर्ने बताइन्। ‘अब उत्पीड़नमा परेकाहरु सबै मिलेर लड़ाइँ अगाडि बढाउनुको विकल्प छैन,’ उनले भनिन्।

बालकृष्ण माबुहाङले यो साम्प्रदायिक संविधानको मस्यौदा भएको उल्लेख गर्दै यसलाई संबिधान भन्नै नमिल्ने जिकिर गरे।

सत्रमा सहभागी भएका इन्दूशेखर मिश्रले पछिल्ला दुई आन्दोलन गरी सयभन्दा बढ़ी ब्यक्तिको सहादत दिएर ल्याइएको यो संबिधान के मधेशको संविधान हो भनी प्रश्न गरे। ‘अधिकारको लडाइँ लामो हुन्छ र यसलाई जीवन्त बनाई राख्नुपर्छ। अहिलेको लड़ाइँ प्रजातन्त्र भित्र आफ्नो अधिकारको लड़ाइ हो र यो लामो जान्छ।’

एक प्रश्नको जवाफमा कांग्रेस नेता अजय द्विबेदीले भने, ‘मिलाउँदै-मिलाउँदै समय बित्यो र हामी कांग्रेस त्यसमै चुक्यौँ।’

कार्यक्रम बिहीबार पनि जारी रहनेछ। बुधबारको कार्यक्रम सकिएपछि सहभागीहरुले संविधानको प्रति जलाएका थिए।

असोज ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्