च्याम्पियन रियल मड्रिडको विजयी सुरुवात

साबिक विजेता रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको नयाँ यात्रा प्रभावशाली जितसहित गरेको छ । समूह चरणको पहिलो खेल अन्तर्गत घरेलु मैदानमा बुधबार राति भएको समूह जी मा रहेको रियल मड्रिडले रोमालाई ३–० ले हराएको हो ।

स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब रोमालाई हराउने क्रममा इस्को, ग्यारेथ बेल र मारिएनोले गोल गरे । ४५ औँ मिनेटमा इस्कोले गोल गरेपछि रियल मड्रिडले पहिलो हाफमा १–० को अग्रता लियो । बेलले ५८ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

यस्तै इन्जुरी समयको पहिलो मिनेटमा मारिएनोले गोल गरेपछि जुलियन लोपेतेगीको टिम रियल मड्रिडले ३–० को सहज जित निकाल्यो ।

रोनाल्डो र जिनेदिन जिदान बिनाको पहिलो च्याम्पियन्स लिग खेलमा रियल मड्रिडले शानदार जित निकालेको हो । समूह जी अन्तर्गतकै अर्को खेलमा भिक्टोरिया प्लेजन र सिएसकेए मस्कोले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यसैगरी बुधबार राति नै भएको समूह ई अन्तर्गतको खेलमा बार्यन म्युनिखले बेन्फिकालाई २–० ले हरायो । बार्यनको जितमा रोर्बट लेवान्डोस्की र रेनाटो सान्चेजले गोल गरे । समूह ई कै अर्को खेलमा अजाक्सले एइके एथेन्सलाई ३–० ले हरायो ।

असोज ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्