देश सञ्चार बिहानी : आजका प्रमुख गतिविधिहरु

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविन घिमिरेको संसदीय सुनुवाई बिहीबार हुँदैछ ।

गएको मंगलबार बसेको समितिको बैठकले गरेको निर्णय अनुसार घिमिरेलाई सुनुवाईका लागि बिहीबार दिउँसो १ बजेका लागि बोलाएको हो । घिमिरेबारे उजुरी दिन दश दिने सार्वजनिक सूचना आह्वान भए पनि एउटा पनि उजुरी परेको छैन ।

प्रतिनिधिसभा अन्तर्गत रहने १० विषयगत समितिहरुको सभापति चयनका लागि बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एकजना प्रस्तावक र एकजना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्नेछ ।

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन्।

फर्निचर तथा फ्लोरिङ्ग सम्बन्धी मेला सुरु हुँदैछ । काठमाडौँको भृकुटिमण्डपमा हुने मेलामा फर्निचर र यससँग सम्बन्धित विभिन्न स्टलहरु रहने छन् ।

निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभा हुँदैछ प्रज्ञा भवनमा । यसैगरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ बिहान ११ बजेपछि ।

असोज ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्